पोखरा । आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशाला सुरू भएको छ ।
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगितामा पहिलो दिन मेन ड्रका खेलहरु सुरू भएसँगै नेपाली खेलाडीहरुले मिश्रीत परिणाम निकालेका छन् ।
ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को सहज जित हात पारेका छन् । त्यस्तै शीर्ष नं१ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडा लाई ६–०, ६–२ ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेका छन् ।
नेपालका आयुष्मान हजुर घलेले दक्षिण कोरियाका ह्यो जिन हा विरुद्ध ६–३, ६–० को सहज जित निकाल्दै घरेलु समर्थकलाई उत्साहित पार्दा तेस्रो वरीयताका कोरियाली खेलाडी युल हो जुङले नेपालका शाश्वत बज्राचार्य विरुद्ध बलियो प्रदर्शन गर्दै ६–०, ६–० को सोझो सेटमा जित दर्ता गरे ।
नेपालका करण थापाले चौथो वरीयताका शौनाक चटर्जी (भारत) लाई ६–१, ६–२ ले सहज जित हात पार्दा पाँचौं वरीयता प्राप्त प्रणव मानन्धर (नेपाल)ले चीनका जियालियाङ गुओलाई ६–२, ७–५ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै ब्वाइज तर्फनै अन्य विजेतामा रेहान गुणवर्धन (श्रीलंका), फजल अली मीर (भारत), गनुका फर्नान्डा श्रीलंका), यांशुओ पान(चीन) तथा रोबर्ट डोल्या (सिंगापुर) रहेका छन् ।
यसै गरी गल्र्स सिंगल्सतर्फ नेपाली खेलाडी द्वय शाल्बी शेरचन र स्वस्तिका विष्ट मेन ड्रको पहिलो खेलबाट बाहिरिएका छन् । शाल्बी भारतीय खेलाडी इशा शर्मा सँग ६–२, ६–२ ले तथा स्वस्तिका तेजस्वी मानेनीसंग टाइ–ब्रेकमा ७–६(६), ६–४ ले पराजित भए ।
गल्र्स सिंगल्सतर्फ भारतका खेलाडीहरूले प्रभाव जमाउँदै इशा शर्मा, शताक्शिखा सहायाक, नोराह चौधरी, रञ्जना संग्राम र मेहा पाटिल सबैले आफ्नो खेल जित्दै अर्को चरणमा स्थान सुरक्षित गरे भने ताइपेइकी के–चियाह हसु र चीनकी युनर ची ले आ–आफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरे । आजको सबैभन्दा रोचक खेलमा नाला जोसेफिन मास्की (अमेरिका) र आयेशा बगला (भारत) बीच थियो । मास्कीले ६–२, ६–७(७), ६–२ ले जित हाँसिल गरिन् ।
