चिनियाँ अनलाइन दुनियाँमा अहिले के तातो विषय बनेको छ, के ट्रेन्डिङमा छ र केले सबैभन्दा बढी चर्चा पाइरहेको छ, आउनुहोस् एकछिन जानकारी लिऔँ।
फुजियान प्रान्तको फुझाउका डाक्टरहरूको एक समूहले ३२ घण्टा लामो मस्तिष्कको शल्यक्रिया सम्पन्न गरेपछि शल्यक्रिया कक्ष (अप्रेसन थिएटर)को भुइँमै थकित भएर पल्टिएको तस्बिर सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जालमा उनीहरूको भव्य प्रशंसा भइरहेको छ।
भाइरल भएका तस्बिरहरूमा फुजियान मेडिकल युनिभर्सिटी युनियन अस्पतालका ती थकित डाक्टरहरू आइतबार भुइँमा पल्टिरहेको देखिन्छन्।
तस्बिरमा एक डाक्टरले ‘विजय’ (भिक्ट्री)को संकेत देखाइरहेको देखिन्छ।
जुन २१ को बिहान सबेरै सुरु भएको ३२ घण्टा लामो यो शल्यक्रियामा तीन जना सर्जन, छ जना एनेस्थेसियोलोजिस्ट र आठ जना नर्सहरू संलग्न थिए।
उनीहरूले एकै बिरामीको मस्तिष्कबाट ट्युमरहरूको श्रृंखला हटाउन छ वटा छुट्टाछुट्टै शल्यक्रिया गरेका थिए।
यो शल्यक्रियाले अब उक्त अस्पतालमा गरिएको सबैभन्दा लामो शल्यक्रियाको रेकर्ड कायम गरेको छ।
इन्टरनेट प्रयोगकर्ताहरूले डाक्टरहरूको समर्पण र ‘अरूलाई बचाउन आफ्नै जीवनको प्रवाह नगरी खटेको’ भन्दै प्रशंसा व्यक्त गरेका छन्।
सिना वेइबो प्रयोगकर्ता जुआङ मिङ्सीले लेखेका छन्, ‘उनीहरू वास्तविक डाक्टर हुन् जो जीवनप्रति जिम्मेवार छन् र बिरामी तथा उनीहरूका परिवारलाई दिएको वाचा पूरा गर्छन्। तपाईंहरू असल उदाहरण हुनुहुन्छ।’
यो घटना भने सन् २०१४ को हो । र, सर्जनहरु डा. दाइ र डा. तियान हुन् ।
(यस समाचार नयाँलिपिले ग्लोबल टाइम्स्बाट अनुवाद गरेको हो ।)
