‘गण्डकीमा ठूला आयोजना पुरा गर्न जनशक्तिको अभाव’ – नेराबैं

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२ का अनुसार पर्यटन पूर्वाधार र जलविद्युत लगायतका ठूला आयोजना समयमै सम्पन्न गर्न आवश्यक स्रोत, साधन र जनशक्तिको अभाव प्रदेशका मुख्य चुनौती भएको बताइएको

औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि पूर्वाधार विकास र लगानीमैत्री वातावरणको अभाव पनि अर्को महत्वपूर्ण समस्याका रूपमा देखिएको छ ।

प्रतिवेदनका अनुसार कृषि क्षेत्र गण्डकी प्रदेशको अर्थतन्त्रको एक प्रमुख आधार भए पनि यसमा थप लगानी बढाएर आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण र विविधीकरण मार्फत आन्तरिक उत्पादन अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्न र कृषकको जीवनस्तर सुधार गर्न चुनौतीपूर्ण छ ।

विद्यमान कृषि अनुदान व्यवस्थाको पुनरावलोकन गर्दै उत्पादन तथा प्रतिफलमा आधारित प्रणालीको सुरुवात गर्नु, बजारीकरणका समस्याहरू हटाउनु, परम्परागत खेती प्रणालीको निरन्तरता तोड्नु, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउनु, गुणस्तरीय बिउ, मल र उपकरणको अभाव पूरा गर्नु, कृषि बिमालाई प्रभावकारी गराउनु र युवा जनशक्ति विदेश पलायन हुँदा कृषि क्षेत्रमा भएको श्रम अभावलाई सम्बोधन गर्नु पनि जटिल कार्य बनेको छ ।

ग्रामीण क्षेत्रका सम्भाव्य स्थानलाई आर्थिक केन्द्रको रूपमा विकास गरी ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा हुने अनियन्त्रित बसाइँ–सराइ रोक्नु र भौगोलिक, वित्तीय तथा वातावरणीय हिसाबले सम्भावना नदेखिएका बस्तीको व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा वर्षमा गण्डकी प्रदेशमा विदेशी पर्यटक आगमनको संख्या २६ प्रतिशतले बढेर ६९ हजार ४ सय ९१ पुगेको छ ।

होटलको शय्या बिक्री २.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ पुगेको छ भने अकुपेन्सी पनि ३१.८४ प्रतिशत रहेको छ । आन्तरिक तथा बाह्य पर्यटनमा सुधार आएकाले सेवा क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ ।

हवाई उडानतर्फ, २२ हवाई कम्पनीमार्फत १४ हजार १ सय ५८ पटक उडान भएको छ र हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.१३ प्रतिशत रहेको छ ।

तर पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्दा समेत पोखरा आउने पर्यटकका लागि विदेशबाट सिधा हवाई रुट सञ्चालन हुन नसक्दा पर्यटन सेवा विस्तारमा चुनौती रहेको प्रतिवेदनको ठहर छ ।

Exit mobile version