राष्ट्रिय कर दिवस २०८२ को अवसरमा पोखरामा आन्तरिक राजस्व कार्यालयले करदाता सम्मान कार्यक्रम आयोजना गरेको छ।
यस वर्षको कर दिवस आधुनिक र वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान बिन्दुको रूपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै मनाइएको हो।
कार्यक्रममा, आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरियो।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड १६ लाख ४९ हजार १४१ रुपैयाँ कर बुझाएको थियो।
०७२ सालमा स्थापना भएको होल्डिङ्सले रियल स्टेटको कारोबार गर्दछ ।
त्यसैगरी, करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत खिलुङ कालिका कन्स्ट्रक्सन प्रालिलाई ८५ लाख ८६ हजार ५१४ रुपैयाँ कर दाखिला गरेकोमा सम्मान गरियो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देशको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको र उनीहरूलाई प्रोत्साहन गर्दै करमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन्।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै करको दायरा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगायतका व्यावसायिक संघ संगठनका प्रतिनिधिहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
पोखरा कार्यालय अन्तर्गत हालसम्म २ लाख ८६ हजार ५२९ करदातालाई सेवा प्रवाह भइरहेको छ, जसमा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ पुगेको छ।
