गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ।
प्रहरीले सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षतिसम्बन्धी भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे सूचना दिने व्यक्ति वा संस्थाको गोपनीयता कायम राखिने बताएका छन्।
उनले आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनी सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरिएको जानकारी दिए।
जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्न केही व्यक्ति पक्राउ परिसकेका छन् र उनीहरूमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए।
‘आन्दोलनमा भएका लुटपाट, तोडफोड, आगजनीजस्ता घटनामा संलग्न व्यक्तिलाई खोजी गरी नियन्त्रणमा लिइरहेका छौँ,’ उनले भने, ‘किटानी जाहेरी र उजुरीका आधारमा अहिलेसम्म ३८ जना पक्राउ परिसकेका छन्, उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको छ।’
