पार्टी कार्यालय तोडफोडपछि ३ दलद्वारा किटानी जाहेरी

सुनसरीको धरानमा पार्टी कार्यालयहरू तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन ठूला पार्टीहरूले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् ।

यसअघि धरानका विभिन्न व्यक्तिहरूले पनि किटानी जाहेरी दिएका थिए । उक्त किटानी जाहेरीपश्चात् प्रहरीले हालसम्म मुद्दा दर्ता गरे नगरेकोबारे जानकारी गराएको छैन । किटानी जाहेरीसहित पार्टीहरूले भिडियो क्लिप्सहरू पनि ‘पेन ड्राइभ’ मार्फत् प्रदान गरेको जनाएका छन् ।

नेकपा (एमाले)का धरान नगर अध्यक्ष हर्कजङ एभेङका अनुसार पहिचान भएका ६ जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसबाहेक भिडियो क्लिप्ससमेत प्रदान गरिएकाले अन्यलाई पनि कारबाही गर्नका लागि निवेदन दिइएको उनले बताए ।

‘६ जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ । भिडियो क्लिप्स सङ्कलन गरेर पेनड्राइभमा दिएका छौँ’ उनले भने, ‘तोडफोड, आगजनी र डकैतीमा उजुरी दिएका छौँ ।’

धरान–१ स्थित नेकपा (एमाले)को कार्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । प्रहरीले भिडियो हेरेर कारबाही गर्ने जनाएको उनले बताए ।

कुनै पनि हालतमा राज्यले सकेन भने पनि प्रहरीको तर्फबाट कारबाहीको दायरामा ल्याउने जनाएको डिएसपीको भनाइ उद्धृत गर्दै एभेङले भने ।

प्रहरीले यसबारेमा कारबाही अगाडि बढाइसकेको जनाएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र गोलेले बताए ।

‘कारबाही प्रक्रिया अगाडि बढिसकेको छ । केही मान्छेलाई नियन्त्रणमा लिइसकेका छौँ । प्राविधिक र म्यानुअल्ली दुवै कोणबाट अनुसन्धान भइरहेको छ भनेर डिएसपी सा’पले भन्नुभएको छ’–उनले भने ।

काङ्ग्रेसको क्षेत्रीय समिति, प्रदेश सभा (क) र (ख), नगर समिति र बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा उजुरी दिएको क्षेत्रीय सभापति गोलेले बताए ।

उनका अनुसार भौतिक तथा उपकरणमा पु¥याएको क्षतिको विवरणसहित १५ जनाविरुद्ध किटानी जाहेरी दिइएको छ । धरान–२ मा रहेको संयुक्त पार्टी कार्यालयमा आगजनी, तोडफोड गरेका थिए ।

उक्त स्थानमा राखिएको बलबहादुर राई, भीमबहादुर तामाङ र जग्गादाता दिलकुमार राईको अर्धकदको सालिक पनि तोडफोड गरेका थिए ।

क्षेत्रीय सभापति गोलेसहित प्रदेश सभा (क)का सभापति अनिल श्रेष्ठ, (ख)का सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल र प्रतिष्ठानका सभापति तिलक राईले संयुक्तरूपमा उजुरी दिएका थिए ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि २० जनाविरुद्ध किटानी जाहेरी र समूहमा रहेका भनी सम्बोधन गरी जाहेरी दिएको नगर अध्यक्ष उद्धव लिम्बूले जानकारी दिए ।

‘भिडियोहरू पनि दिएका छौँ । किटानी जाहेर २० जनाविरुद्ध छ । पहिचान नभएकालाई समूह भनी सम्बोधन गरेर जाहेरी दिएका छौँ’ उनले फोनसम्पर्कमा भने, ‘हाम्रो प्रारम्भिक क्षति ४१ लाख २९ हजार रुपैयाँ भएको विवरण आएको छ ।’

उनका अनुसार पार्टी कार्यालय एकान्तमा रहेकाले धेरै क्षति पुगेको बताए । ‘तोडफोडसहित आगजनी गरे । भित्रको सामान कामै नलाग्ने अवस्थामा छ । बाहिर निकालेर पनि आगो लगाए’ उनले भने, ‘त्यही भएर धेरै क्षति पुगेको छ ।’

Exit mobile version