धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्राडा सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा परेका छन्।
अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्राडा शर्मा पनि छनोट भएका छन्।
पछिल्ला २५ वर्षदेखि सर्पदंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु रोग, मिर्गौला रोगलगायत विषयमा डा. शर्माले महत्वपूर्ण अध्ययन तथा अनुसन्धान गरेको योगदानको आधारमा वैज्ञानिक छनोट गरिएको हो।
उनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्।
वैज्ञानिकको सूचीमा विगतमा बीपी प्रतिष्ठानमा कार्यरत प्राडा सुमन रिजाल पनि परेका छन्, जो हाल डब्लूएचओ, दिल्लीस्थित सर्ने रोग विभागका निर्देशक छन्।
