गत असोज २२ गते आव्हान गरिएको गण्डकी प्रदेशसभाको बैठक सभास्थल अभावकै कारण रोकिएपछि पुनः नयाँ मिति कायम गरिएको छ ।
सभामुख कृष्णप्रसाद धितालले आगामी २४ गते बैठकको नयाँ मिति कायम गरेका छन् ।
सभामुखका अनुसार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनस्थित हललाई अस्थायी प्रदेशसभा भवनका रूपमा प्रयोग गर्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठक अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।
भदौ २४ गतेको आगजनीबाट प्रदेशसभा र सचिवालयका भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । जेनजी आन्दोलनले निम्त्याएको यो क्षतिले गण्डकी प्रदेशको विधायिकी प्रक्रियामै असर पारेको छ ।
यसअघि असोज १८ गते सभामुख धितालले सूचना जारी गरेर असोज २२ गतेका लागि बैठक आह्वान गरे पनि अन्तिम समयमा पुनः स्थगित हुन पुगेको थियो ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले प्रदेशको समग्र प्रशासनिक कार्यमा अवरोध सिर्जना भएका छ । प्रदेश सरकारका अन्य कार्यालयहरूले सरसफाइ र मर्मत गरी काम थाले पनि प्रदेशसभाका भवनहरू भने तत्काल प्रयोगमा आउने अवस्थामा छैनन् ।
प्रदेशसभामा अहिले खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐनको संशोधन विधेयक विचाराधीन अवस्थामा छन् । यसका साथै, सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा दर्ता गराइसकेको छ ।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले संसद बैठकका लागि आन्तरिक व्यवस्थापन सकिएको जानकारी दिए । यो बैठकमा विशेषगरी जेनजी आन्दोलनपछि प्रदेशमा उत्पन्न परिस्थितिको समीक्षा, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका बारेमा छलफल हुनेछ ।
यसअघि दर्ता भएका महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गरिने सचिव पौडेलले बताए ।
२३ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तयार गरिने छ । सचिव पौडेलका अनुसार ४ दिनको बैठकपछि अधिवेशन अन्त्य हुने छ ।
