सुनिल उलक
हिजो पोखरा महानगरपालिका अन्तर्गत वडा नं. १,२ र ४ मा एशियाली बिकास बैंकको सहयोगमा पोखराको सिद्धार्थचोक देखि बिन्दुवासिनीसम्म सडक सुधार, सांस्कृतिक सम्पदाको संरक्षण तथा पुराना निजी घरहरु जोगाउँदै यस क्षेत्रमा पर्यटन प्रवर्धन गरि स्थानीयको सामाजिक र आर्थिक उत्थान गर्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भयो ।
पोखरा महानगरपालिकाले एशियाली बिकास बैंकबाट आउने ७ अरव रुपैयाँको आर्थिक सहयोगले पोखराको पुरानो बजार क्षेत्रको आमूल परिवर्तन हुने जीवनस्तर उकासिने सपना देखाएको सायद सात वर्ष नै भइसक्यो होला । अघिल्ला नगर प्रमुख मानबहादुरका समय पनि निकै छलफल भएको थियो, हालका नगर प्रमुखका समय पनि धेरैपटक छलफल भए । यहीँ आश्वासन र सपनाबिच त्यस क्षेत्रका एक चौथाइ पुराना घर भत्किए, भत्काइए ।
हिजो पनि छलफलबाट फर्कदै गर्दा रामकृष्णटोलकै १०० वर्ष भन्दा पुरानो एक घर भत्कियो । वडा नं ४ को वडा कार्यालयको भित्तामा त्यस वडामा रहेका ऐतिहासिक निजी घरहरुका तस्विर निकै गर्वसाथ झुन्ड्याएर राखिएको थियो । तर ती घरहरुको संरक्षण र सम्वर्धन गर्न भने कुनै चासो नै राखिएन । हिजो भत्किएको घर केवल एउटा पुरानो घर मात्रै थिएन । त्यो घरको भिन्न इतिहास थियो ।
काठमाडौं नरदेवी नजिकैका रैथाने पेशाले बैद्य शिवलाल के.सी. मुक्तिनाथ दर्शन गर्ने उद्धेश्य सहित बि.सं. १९६० तिर सपरिवार सात दिन लगाएर पोखरा आइपुगेका थिए । पोखराबाट अर्को सात दिनको यात्राका लागि जानू पर्ने थियो । तसर्थ केही दिनका लागि पोखरा विश्राम गर्ने सोचे ।
राणाकालको कुख्यात ४२ सालपर्वमा धिरशमशेरका छोराहरुले राज्यशक्ति आफ्नो हातमा लिन जङ्गबहादुर रउनका अन्य भाइका सन्तानहरुमा कतिलाई काटे, कतिलाई देश निकाला गरे । यहि समय जङ्गबहादुरका भाइ जगतशमशेरका छोरा भुपेन्द्रजङ्ग पनि निकालिए । भुपेन्द्रजङ्ग पोखराको गैह्रापाटनमा ढोका दरवार बनाएर बसे । पछि उनका छोरा भेषजङ्ग पोखराको बडाहाकिम बनाइए ।
मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले पोखरा आइपुगेका शिवलाल वैद्य, मुक्तिनाथ तिर चिसो बढेको तथा हिउँले हिडडुल गर्न नै अप्ठ्यारो रहेको जानकारी पाए पछि बडाहाकिमका परिवार र अन्यको उपचारमा दिन ब्यतित गर्न थाले । लामै समय पोखरा रहँदा पोखरा रमाइलो लाग्दै थियो । त्यस्तैमा बडाहाकिम भेषजङ्गले पोखरामा राम्रा वैद्य नभएको हुँदा पोखरा नै बस्न आग्रह गरे । छोरालाई पनि दरवारमा जागीर दिलाइदिने र बस्नका लागि सबै मिलाइदिने वचन दिएर काठमाडौं फर्कन नै दिएनन् ।
यसरी बडाहाकिम भेषजङ्गकै आग्रहमा पोखरा बस्न थालेका शिवलालका छोरा भैरवबहादुरलाई केही वर्ष पछि दरवार भित्र मुन्सीको जागिर दिइयो । साथै दरवारको वैद्य पनि कहलियो ।
अहिले रामकृष्णटोलमा बसोबास गर्ने केसीहरु यिनै शिवलालका दुई छोरा भैरवबहादुर र पृथ्वीबहादुरका सन्ततिहरु हुन । केही परिवार सिमलचौरमा पनि छन् ।
पछि सो घर शिवलाल पछि भैरवबहादुर र पृथ्वीबहादुरमा बाँडियो । अहिले यो घरको तीन चौथाई भाग भैरवबहादुरका सन्ततिको भागमा छ । जुन भत्किएको देखिदैन । भत्किएको तर्फको एक चौथाई भाग भने पृथ्वीबहादुरको सन्ततिको हो । जुन तर्कबहादुर केसीको नाममा रहेको छ ।
