जेन-जी आन्दोलनपछि गण्डकी प्रदेशको बैठकः सरकारी र निजीसहित ५ अर्बको क्षति मूल्यांकन

जेनजी आन्दोलनपछि ध्वस्त भएको प्रदेशसभा र मुख्यमन्त्रीको संरचनाले अस्तव्यस्त भएको अवस्थामा आज प्रदेशसभाको बैठक बसेको छ ।

यसअघि असोज २२ गते बैठक आव्हान भएपनि स्थानाभावकै कारण बैठक बस्न सकेको थिएन ।

आज आव्हान गरिएको बैठक पोखराको मालेपाटनस्थित भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको हललाई अस्थायी प्रदेशसभा भवनका रूपमा प्रयोग गर्ने गरी सभा भवन बनाइएको हो ।

बैठकमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनबाट भएको क्षति विवरण सुनाएका छन् ।

मुम पाण्डेद्वारा सुनाइएको विवरणमा आन्दोलनका दौरान ३ जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मी गरी ७० जना घाइते भएका छन् ।

यस क्रममा प्रदेशका ७ जिल्लामा १३८ सरकारी कार्यालय आगजनीबाट ध्वस्त पारिएको छ । त्यस्तै, ६१ निजी संरचनामा क्षति पुगेको उनले सुनाए ।

३६१ वटा २ पांग्रे सवारीसाधान पूर्ण क्षति भएको, ७ वटा तोडफोड र ३ वटा हराएको तथ्यांक मुम पाण्डेले सुनाए ।

यसैगरी, १६१ वटा चारपांग्रे सवारीसाधानमा आगजनी गरिएकोमध्ये ३१ वटामा पूर्ण क्षति भएको उनले उल्लेख गरे ।

आन्दोलनबाट सरकारी भवन र सवारीसाधन गरी २ अर्ब र निजीतर्फ ३ अर्ब रुपैयाँ बराबरको क्षति अनुमान गरिएको उनले आजको प्रदेशसभामा सुनाएका छन् ।

प्रदेशसभाको आठौं अधिवेशन एवं सत्ताइसौं बैठक जारी छ ।

Exit mobile version