निजी अस्पताललाई नानको अल्टिमेटम -‘कात्तिक १८ भित्र माग पुरा गर्नु’

नेपाल नर्सिङ संघ (नान)ले निजी अस्पतालका सञ्चालकलाई नर्सहरुको तलब, सुविधालगायतको वृद्धि गर्न कात्तिक १८ गतेसम्मको अल्टिमेटम दिएको छ ।

नानले आन्दोलनको नेतृत्व लिँदै सञ्चालक र सरकारलाई कात्तिक १८ गतेभित्र माग सम्बोधन गर्न समयसीमासँगै चेतावनी दिएको हो ।

नानको निर्णयअनुसार हाल दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राख्ने कार्यक्रम सञ्चालन भइरहेको छ । बुधबार देशभरका विभिन्न अस्पतालका नर्सहरूले सो समयमा सेवामार्फत दबाब सिर्जना गरेका थिए ।

निजी क्षेत्रका नर्सहरू सरकारी अस्पतालका नर्सको बराबर पारिश्रमिक र सुविधा चाहन्छन् । तर, निजी अस्पताल सञ्चालकहरूले भने आर्थिक अवस्थाका कारण तत्काल त्यस्तो सुविधा दिन नसकिने बताएका छन् ।

यसैबीच, नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । समितिले सातै प्रदेशमा कार्यदल बनाएर अवस्थाको मूल्यांकन गर्न र दीर्घकालीन समाधानका सिफारिससहित प्रतिवेदन पेश गर्ने तयारी गरेको बताइएको छ ।

संघले चेतावनी दिँदै भनेको छ, ‘यदि कात्तिक १८ भित्र माग सम्बोधन भएन भने, देशभरका नर्सहरूले सेवा पूर्णरूपमा बन्द गर्नेछन् ।’
निजी अस्पताल र मेडिकल कलेजका नर्सहरूले सुरु गरेको आन्दोलनमा अहिले पोखराको सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरू पनि सहभागी भएका छन् ।

बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म अस्पतालका नर्सहरूले आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरेका हुन् । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाए ।

नेपाल मणिपाल शिक्षण अस्पताल हुँदै सुरु भएको आन्दोलन अहिले देशभरी चलिरहेको छ । पोखरामा पनि मणिपालपछि गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्स पनि आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले श्रम शोषण गर्न पाइँदैन, नर्सको तलब वृद्धि सर, सरकारी दर रेट अनुसार तलब दिउ लगायतका नारा लगाउँदै अस्पताल परिसरमा आन्दोलन गरेका हुन् ।

Exit mobile version