पोखराको मणिपाल शिक्षण अस्पतालमा नर्सहरु आन्दोलित भएपछि गण्डकी मेडिकल कलेज (जीएमसी)मासमेत त्यसको प्रभाव परेको छ ।
पोखराको ठूलोमध्येमा पर्ने जीएमसीमा मंगलबार सघन उपचार कक्ष (आइसीयू)को दृश्य निर्क हृदयस्पर्शी देखिएको छ । अस्पतालले थप सेवा दिन नसक्ने भन्दै बिरामीका आफन्तलाई बाहिर लैजान भनेपछि परिवारजन र आफन्त मर्कामा परेका छन् ।
प्रायः बिरामीलाई डिस्चार्ज दिएको अस्पतालले केहीलाई अन्यत्र रिफर गर्ने प्रयास पनि सफल हुन सकेको छैन । प्रायः बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिएपनि यथेष्ट आइसीयू उपलब्ध नहुँदा अन्य निजी अस्पतालमा बेड खोज्न आफन्तले प्रयास गरिरहेका छन् ।
आइसीयूमै उपचार गराउन पर्ने बिरामीलाई यतिबेला त्यहाँका चिकित्सक र आफन्तजन एकसाथ अन्यत्र फोन घुमाइरहेको देख्न सकिन्छ ।
‘केही बिरामीलाई भोली अपरान्हसम्म भएपनि आइसीयू बेड खोज्ने प्रयास भइरहेको छ’ आइसीयूमा कार्यरत एक चिकित्सक भन्छन् ‘केहीले बिरामीलाई काठमाण्डौं लैजाने तयारी गरिरहनु भएको छ ।’
नर्सहरुले विभिन्न माग राखेर सुरु गरेको आन्दोलनले अस्पतालको ओपीडीबाहेकका सेवा प्रभावित भएको छ भने आइसीयूमा भोली दिउँसो १ बजेसम्म मात्रै सेवा दिने अल्टिमेटम दिइएको आन्दोलनरत नर्सहरुले बताएका छन् ।
नर्सहरु नेपाल सरकारले तोकेको तलबस्तर र सुविधा तुरुन्त कार्यान्वयन हुनुपर्ने, नर्सहरुको परिश्रम, मूल्य र पेसागत सम्मान सुनिश्चित हुनुपर्नेसमेतका माग राख्दै सोमबारदेखि आन्दोलित भएका हुन् । उनीहरुले माग सम्बोधन गर्न अस्पताल प्रशासनलाई २४ घण्टाको अल्टिमेटमसमेत दिएका छन् ।
जीएमसीका नर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलन कुनै पनि प्रकारको हड्ताल वा अव्यवस्था होइन, तर हाम्रो मेहनत, समर्पण र पेसाको सम्मानका लागि गरिएको आवाज हो । लामो समयदेखि प्रशासन र सम्बन्धित निकायमा माग र निवेदन पु¥याउँदा पनि कुनै सकारात्मक प्रतिक्रिया नआएकोले बाध्य भएर यस्तो कदम चालेका हौं ।’
नेपाल नर्सिङ संघ कास्की उपाध्यक्ष मीनु श्रेष्ठले आफू पनि नर्सहरुसँगै रहेको उल्लेख गर्दै अस्पताल प्रशासनले नर्सहरुको मागबमोजिम सेवा, सुविधा दिन नसक्ने जनाएपछि सोमबार साँझको वार्ता विफल भएको जानकारी दिइन् ।
उनका अनुसार नर्सहरुले बिरामीको स्वास्थ्यलाई मध्यनगर गर्दै क्रिटिकल केयरका लागि सेवा दिनेगरी २४ घण्टाको अल्टिमेटम दिएका छन् । माग पूरा नभए थप पेनडाउनसहित कडा आन्दोलनको चेतावनी दिएका छन् ।
यसैबीच, नेपाल नर्सिङ संघ कास्कीले नर्सहरुको आन्दोलनबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तलब, जोखिम भत्ता, रात्रिकालीन भत्तालगायतका अन्य सेवासुविधा सम्बन्धमा माग सम्बोधन गर्न सम्बन्धित अस्पतालहरुलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।