सुनसान मणिपालः नर्स आन्दोलनमा, सञ्चालक गम्भीर छलफलमा

सरकारी अस्पतालसरहको तलबलगायतका सेवा, सुविधाको माग गर्दै पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरुको आन्दोलन निरन्तर छ ।

यसअघिदेखि नै तलब, सेवा सुविधाको माग राख्दै आएपनि अस्पताल प्रशासनले सुनुवाई नगरेपछि कामै रोकेर धर्नामा उत्रन बाध्य भएको नर्सहरुको भनाई छ ।

‘सरकारी रेटअनुसार नर्सको तलब ३० हजार रुपैयाँ न्यूनतम रहेको छ’ एक दशकदेखि कार्यरत नर्स भन्छिन् ‘यहाँ १२–१५ हजार बेसिक रहेको छ, चित्त बुझाउने ठाउँ नै छैन ।’

उनका अनुसार अस्पताल प्रशासनले २५ हजार (क्यास इन ह्यान्ड) गर्ने भनेको छ । तर, आन्दोलनरत नर्सहरु भने न्यूनतम तलब नै ३० हजार रुपैयाँ हुनुपर्ने बताउँछन् ।

क्यास इन ह्यान्ड भनिएको रकम सम्पूर्ण सेवा, सुविधा, भत्तालगायत पर्छ । जसमा ओभरटाइम र यातायात खर्चपनि समेटिएको छ ।

अघिल्लो प्रशासनले अस्पताल बेच्ने प्रक्रियामा राखेपछि सन् २०१८ देखि तलबलगायतका सेवामा वृद्धि नगर्दा अहिले नयाँ आउने नर्सहरु सबैभन्दा बढी मारमा परेका हुन् ।

यसअघिका आन्दोलनमा ट्रेड युनियनले नेतृत्व गर्दा आशातीत सफलता हात नपरेपछि अहिले नर्सहरु यूनिफर्ममा रही स्वःस्फुर्त आन्दोलनमा उत्रिएको बताउँछन् ।

करिब ३ सयको हाराहारीमा रहेका नर्सहरुमध्ये केही आइसीयू र अपरेशन थिएटरमा सेवा दिइरहेका छन् भने अन्य आन्दोलनमा सरिक छन् ।

बिहान ९ बजेदेखि सुरु भएको धर्ना ५ बजेसम्म चल्नेछ ।

त्यस्तै, आकस्मिक सेवा अवरोध भएको छ भने आज साँझसम्म कुरा नमिले ओपिडीसमेत प्रभावित हुनेछ ।

आन्दोलनकै कारण अस्पतालले शुक्रबारदेखि वार्डमा रहेका बिरामीलाई डिस्चार्ज गरेको छ भने केहीलाई अन्य अस्पताल रिफर गरेको छ ।

आन्दोलनकाकारण दैनिक २ हजार बिरामीले सेवा लिने अस्पताल अहिले सुनसान भएको छ ।

यस विषयमा अस्पतालले ‘घाँटी हेरेर हाँड निल्नुपर्ने’ भन्दै आफ्नो कमाईअनुसार सेवा, सुविधान दिने बताएको छ । ‘हामीले वार्तामा बोइरहेका छौं,

तर उहाँ (नर्स)हरु एकोहोरो माग पुरा गनुपर्ने अडानमा हुनुहुन्छ’ अस्पताल प्रशासनका एक सदस्य बताउँछन् ।

यतिबेला अस्पताल प्रशासनको बोर्ड बैठक बसिरहेको र यथाशीघ्र सहमतिमा पुग्ने प्रयास हुने उनले बताए ।

Exit mobile version