मणिपालमा आन्दोलित नर्सलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट ऐक्यबद्धता

सरकारी अस्पतालसरहको तलबलगायतका सेवा, सुविधाको माग गर्दै पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरुको आन्दोलन निरन्तर छ ।

यसअघिदेखि नै तलब, सेवा सुविधाको माग राख्दै आएपनि अस्पताल प्रशासनले सुनुवाई नगरेपछि कामै रोकेर धर्नामा उत्रन बाध्य भएको नर्सहरुको भनाई छ ।

मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले तलब वृद्धिलगायतको माग राख्दै सुरु गरेको आन्दोलनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत नर्सहरुले ऐक्यबद्धता जनाएका छन् ।

निजीमा कार्यरत नर्सको समर्थनमा सरकारी अस्पतालका नर्सहरुले समर्थन गरेको सम्भवतः पहिलो पटक हो ।

पश्चिमाञ्चलका नर्सहरुले ऐक्यबद्धतास्वरुप श्रम शोषण बन्द गर्न र समान कामको समान ज्याला उपलब्ध गराउन दबाबस्वरुप कार्यक्रमसमेत गरेका छन् ।

आन्दोलित नर्सहरुले न्यूनतम पारिश्रमिक उपलब्ध गराउने लगायतका ९ बुँदे माग प्रशासनसँग राखेका छन् ।

उनीहरुले सरकारले तोकेका न्यूनतम पारिश्रमिक उपलब्ध नभएको, ओभर लोड काम गर्न परेको, छुट्टी नपाएको, जोखिम डिपार्टमा काम गर्नेले सोही अनुसारको भत्ता नपाएको, ट्रान्सपोर्टेसन खर्चसमेत नभएको जनाएका छन् ।

यी माग राख्दै १ सय ८१ जना नर्सले अस्पताल परिसरमा धर्ना दिएका हुन् । आन्दोलित नर्सहरुले ग्रेड अनुसार र राज्यले तोकेको १९ हजार ५ सय ५० रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् ।

Exit mobile version