वरिष्ठ चिकित्सक भित्र्याएपछि जीएमसीमा ‘न्यूरोसर्जरी’ सेवा सुरु

नयाँलिपिः प्राडा यामबहादुर रोका नेपालमा गिनेचुनेका न्यूरोसर्जनमध्ये एक विशिष्ट नाम हो । जसले मस्तिष्क र नशासम्बन्धी उपचार एवं शल्यक्रियामा करिब २१ वर्षको अनुभव संगालेका छन् ।

उनै न्यूरोसर्जन रोकाको नेतृत्वमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी)ले २ महिनादेखि न्यूरोसर्जरी सेवा सुरु गरेको छ । यसबीच करिब २० वटा सफल अपरेशन गरिसकेको डा. रोकाको योगदानपश्चात् जीएमसीले थप १५ शैय्याको सघन उपचार कक्ष (आइसीयू) स्थापना गरेको छ ।

मस्तिष्कमा नशा फुटेर रगत जमेको, ट्युमर, ट्रमा, ढाड र घाँटीमा नशा च्यापिएका बिरामीले जीएमसीबाट उपचार पाइसकेका छन् । नशाकै स्ट्रोकबाट पीडित बिरामी हाल स्वस्थ जीवन बिताइरहेको बायोडाटा अस्पतालसँग छ ।

विशेषज्ञ सेवालाई अझ विस्तार गर्न अस्पतालले छिट्टै नयाँ प्रविधि र उपकरण भित्र्याउने तयारी गरिरहेको बताएको छ । साथै, अपरेशन थिएटरको नयाँ सेटअपसमेत तयार पारिएको छ । अस्पताल प्रशासनका अनुसार न्यूरोसर्जरीकालागि पोखरेलीले अन्य सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ ।

अझ, न्यूरोसर्जनकोे सेवा चौबीसै घण्टा उपलब्ध भएको बताउँदै अस्पतालले अपरेशन गर्नकालागि बिरामीले कुर्न नपर्ने सुनिश्चिताता गरेको छ ।

‘मैले जीएमसीमा सेवा दिन थालेको करिब २ महिना भयो, यसबीच २० वटा अपरेशनसमेत गरे’ प्राडा रोका भन्छन् ‘हामी करिब १५ जनाको टिम २४ घण्टा उपलब्ध छौं ।’ अस्पतालमा सामान्यदेखि जटिल प्रकृतिका अपरेशन हुने रोका बताउँछन् ।

नशासम्बन्धी उपचार र अपरेशनकालागि काठमाण्डौं धाउने बाध्यतालाई रोक्ने लक्ष्य रोका र अस्पताल प्रशासन दुबैको छ । उपचार र अपरेशनसँगै नर्सिङका विद्यार्थीलाई अध्यापनमा व्यस्त रोका दक्ष र सबल टिम निर्माणमासमेत जुटिरहेको बताउँछन् ।

न्यूरोसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउन अस्पतालले आवश्यक विभाग, सुविधा, आइसीयू, सर्जनमा लगानी बढाइरहेको छ । सर्जनकै भूमिकाबाट २ दर्जन बढी अवार्डले सुशोभित प्राडा रोकाले कूल १५ हजार अपरेशन गरिसकेका छन् । जसमध्ये ७ हजार ५ सय जटिल प्रकृतिका रहेका छन् ।

सेवाका दौरान १५ वर्ष देशको पूर्वी सहर विराटनगर बिताएका रोका हाल जीएमसीमा न्यूरोसर्जरी विभागका प्रमुख समेत हुन् । जीएमसीमा यससम्बन्धी सेवा सुरु गरेपछि पूर्वका बिरामी काठमाण्डौंका विभिन्न अस्पताल हुँदै अन्ततः डाक्टर रोका खोज्दै पोखरा आउन थालेका छन् ।

यसैबीच भेटिइन् पूर्व सप्तरीकी विनिताकुमारी मण्डल । विनिताकी छोरा सप्तरीमा दुर्घटनामा परेपछि काठमाण्डौका फरकफरक अस्पतालमा उपचार गराइन् । त्यसपछि छोरा लिएर विराटनगर जाँदा प्राडा रोका पोखरा गएको सुनेपछि उनले छोरालाई जीएमसी ल्याएकी छिन् ।

उनको टाँउको अपरेशनपछि हाल स्वास्थ्यलाभ भइरहेको छ । आमा विनिता भन्छिन् ‘छोरालाई लिएर काठमाण्डौका २ ठूला अस्पताल हुँदै विराटनगर पुगे, त्यहाँ (विराटनगरमा) रोका डाग्साबका जानु भनेपछि पोखरा आएको हुँ ।’

मुस्किलले नेपाली बोल्ने र बुझ्ने विनिताले जीएमसीको सर्वसुलभ शूल्क र गुणस्तरीय सेवालाई धन्यवाद व्यक्त गरिन् । चौबिसै घण्टा सर्जनको विशेष निगरानीमा सेवा उपलब्ध पाएसँगै उनले भनिन् ‘पोखरा आउन अलि ढिला भयो, तुरुन्तै आएको भए छोरा ठिक भइसक्ने रहेछ ।’

डाक्टरसँग चेकजाँच गरेपछि रोग वा समस्याको पहिचानपश्चात् राजधानी वा अन्य स्थान धाउँदाधाउँदै कतिपय अवस्थामा ढिलोे हुनसक्नेतर्फ औंल्याउँदै प्राडा रोकाले विशेषतः पोखरा र आसपासका जिल्लावासीलाई भने यस्तो अवस्थामा यथाशीघ्र जीएमसी आउन सुझाएका छन् ।

यसैबीच, सर्जरी सेवा लिएका छिमेकी जिल्ला स्याङजाका ६० वर्षीय रेशमलाल पौडेल उच्च रक्तचापकाकारण घरमै ढले, नशा फुटेर टाउकोमा रगत जमेका उनको पोखराको जिएमसीमा उपचार भईरहेको छ ।

रेशमलालका छोरी सोनिया पौडेलले जिएमसीमा अनुभवी डाक्टर रोका आएका छन् भन्ने थाहा पाएर यही ल्याएको बताइन् । अप्रेशनपश्चात बुवाको स्वास्थ्यमा सुधार हुँदै गएको सोनियाले नयाँलिपिलाई सुनाइन् ।

Exit mobile version