नयाँलिपिः कास्कीको रुपा गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।
बिमा बोर्डसँगको सहकार्यमा पालिकावासीलाई स्थानीय रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको पालिका अध्यक्ष नवराज ओझाले जनाएका छन् ।
स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपियाँको ५० प्रतिशत गाउँपालिकाले व्यर्होने भएको छ ।
बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको ओझाले जानकारी दिए ।
पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको उनको भनाइ छ ।
‘जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नयाँ वर्षमा नयाँ कामको थालनी गरेका छौं,’ उनले भने, ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर अस्पतालसहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको छौं । यो कार्यक्रमले पनि स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’
२ डाक्टरसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने योजना ओझाले सुनाए । अस्पताल र स्वास्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । स्वास्थ्य सेवालाई सहज बनाउन ९ वटै स्वास्थ्य संस्थामा गरी ३७ जनालाई करार नियुक्त गरिएको छ ।
ओझाका अनुसार अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अन्यत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा (ओपिडी) सुरु हुन उनको भनाइ छ ।
पालिकाबासीलाई प्रिमियमको आधा अनुदान दिन पालिकाले यो वर्ष २० लाख विनियोजन गरिएको छ
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जनतासँग प्रत्यक्ष जोडिएको सेवाको सुरुवात हुनु सुखद पक्ष भएको बताउँदै ५ महिनाको तयारीपछि सेवा आरम्भ भएको जानकारी दिए । रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङले स्वास्थ्य बिमा कार्यक्रमको लाभ लिन पालिकावासीलाई अनुरोध गरेका छन् ।
रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवास सुवेदीले अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिनबाहेक ओपिडी सेवा, निशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिए ।
उनले स्वास्थ्य जनचेतना जगाउन विद्यालय कार्यक्रम अस्पतालले गर्दै आएको जानकारी दिएका हुन् ।