नयाँलिपिः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ ।
सडक विस्तार छिटो सम्पन्न गर्न भन्दै आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । आजदेखि १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुनेछ ।
गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो । दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी रहेको सडक आयोजनाले जनाएको छ ।
दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकता अनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको आयोजनाको दाबी छ । १४ किलोमिटर दाउन्ने क्षेत्रको पहाडमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक अप्ठ्यारो भएको छ ।
नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ ।
शहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन रहने गरी काम भइरहेको छ ।