सुरज श्रेष्ठ/पोखरा ।पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी)ले न्युरोसर्जरीको क्षेत्रमा एक ठूलो फड्को मारेको छ ।
अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. यमबहादुर रोकाको नेतृत्वमा रहेको टोलीले करिब १४ घण्टा लामो अत्यन्तै जटिल मस्तिष्कको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी अस्पतालको विश्वस्तरीय उपचार क्षमता पुनः प्रमाणित गरेको हो ।
म्याग्दीका ४३ वर्षीय पदमबहादुर पुन विगत केहि महिनादेखि स्वास्थ्य समस्याले थलिएका थिए । उनलाई कडा खालको टाउको दुख्ने, आँखा सुन्निने, आँखा झ्याप्प बन्द हुने र हिँड्दा हातखुट्टामा कमजोरी महसुस हुने जस्ता लक्षणहरू देखिएका थिए ।
विभिन्न अस्पताल धाउँदा पनि रोग निको नभएपछि उनी घारीपाटनस्थित हिमालयन आँखा अस्पताल पुगेका थिए । त्यहाँ आँखाको परीक्षण गर्दा कुनै खराबी नदेखिएपछि चिकित्सकले उनलाई थप जाँचका लागि गण्डकी मेडिकल कलेज पठाए ।
जीएमसीमा वरिष्ठ न्युरोसर्जन डा. रोकाले बिरामीको अवस्था हेरी तत्काल एमआरआई गर्न सुझाव दिए । एमआरआई रिपोर्टबाट उनको मस्तिष्कको ‘सिपी एङ्गल’ क्षेत्रमा ट्युमर रहेको पत्ता लाग्यो ।
मस्तिष्कको सिपी एङ्गलमा हुने शल्यक्रियालाई चिकित्सा विज्ञानमा अत्यन्तै जोखिमपूर्ण र संवेदनशील मानिन्छ । न्यूरोसर्जन रोका र डा. बिपिन बजागाई सहितको ६–७ सदस्यीय विशेषज्ञ टोलीले करिब १४ घण्टा लगातार प्रयास गरेर उक्त ट्युमरलाई सफलतापूर्वक हटाउन सफल भयो ।
शल्यक्रियापछि पुनको स्वास्थ्यमा उत्साहजनक सुधार देखिएको छ । उपचारमा संलग्न डा. बजागाईले शल्यक्रियापछि बिरामीलाई केही दिन अस्पतालमै राखेर नशाबाट औषधि दिइएको र बिरामी निको हुने क्रममा रहेको जानकारी दिए ।
उपचारपछि न्यूरोसर्जन रोकाले बिरामीलाई सामान्य दैनिक क्रियाकलापमा फर्कन कुनै समस्या नहुने बताए ।
यद्यपि, उनले केही समयका लागि सवारी साधन नचलाउन र समय-समयमा फलोअप चेकअपका लागि अस्पताल आउन सल्लाह दिएका छन् । रोकाका अनुसार यस्ता रोगहरू केही प्रतिशत वंशानुगत हुने भए तापनि यो जोकोहीलाई पनि हुन सक्छ ।
बिरामीका भतिज त्रिनेत्र पुन मगरले अस्पतालले दिएको नयाँ जीवनप्रति खुसी व्यक्त गर्दै भने, ‘धेरै ठाउँ धाउँदा पनि रोग पत्ता लागेको थिएन, तर यहाँ आएपछि काकाको रोग पनि पत्ता लाग्यो र उपचार पनि राम्रो भयो । हामी डाक्टर साब र अस्पतालको टोलीप्रति निकै आभारी छौं ।’
वरिष्ठ न्युरोसर्जन रोकाको अनुभव र दक्षताका कारण अचेल नेपालका विभिन्न जिल्ला मात्र नभई छिमेकी देश भारतबाट समेत बिरामीहरू उपचारका लागि पोखरा आउन थालेका छन् ।
अत्याधुनिक प्रविधि, सहज पहुँच र अनुभवी चिकित्सकहरूको उपलब्धताका कारण गण्डकी मेडिकल कलेजले जटिल न्युरो सर्जरीका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यतालाई चिर्दै पोखरालाई मेडिकल हब को रूपमा स्थापित गरेको छ ।
अस्पताल प्रशासनका अनुसार यस्ता जटिल शल्यक्रियाहरू सफल हुनुले निजी क्षेत्रका मेडिकल कलेजहरूले पनि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।
