सुरज श्रेष्ठ
पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) ले न्युरोसर्जरी क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । वरिष्ठ न्युरोसर्जन डा.यमबहादुर रोकाको नेतृत्वमा ६–७ सदस्यीय विशेषज्ञ टोलीले करिब १३ घण्टा लामो जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्दै ४३ वर्षीय पदमबहादुर पुनको ज्यान बचाएको हो ।
म्याग्दीका पुन विगत केही महिनादेखि कडा टाउको दुखाइ, आँखा सुन्निने, आँखा झ्याप्प बन्द हुने तथा हिँडडुल गर्दा हातखुट्टामा कमजोरी महसुस हुने समस्याबाट पीडित थिए । उपचारका लागि उनी पोखरास्थित हिमालय आँखा अस्पताल पुगेका थिए । आँखाको परीक्षण गर्दा दुवै आँखामा सुजन अर्थात् Papilledema देखिएको थियो । त्यसपछि त्यहाँका चिकित्सकले Magnetic Resonance Imaging (MRI) गर्न सुझाव दिएका थिए।
राम्रो अस्पताल र अनुभवी न्युरोसर्जनको खोजी गर्दै जाँदा प्रो.वरिष्ठ न्यूरोसर्जन डा.यमबहादुर रोकाको नामबारे जानकारी पाएपछि पुन जीएमसी पुगेका थिए । जीएमसीमा गरिएको MRI बाट उनको मस्तिष्कको Cerebellopontine Angle (CPA) क्षेत्रमा ट्युमर रहेको पुष्टि भयो ।
चिकित्सा भाषामा यसलाई Acoustic Neuroma (Vestibular Schwannoma) भनिन्छ । कानको सुन्ने नसाबाट उत्पन्न हुने यस प्रकारको ट्युमरका कारण बिरामीमा सुन्ने क्षमतामा कमी आउने, मुख बाङ्गिने, बान्ता हुने, कडा टाउको दुख्ने तथा हिँडडुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । CPA क्षेत्रमा गरिने शल्यक्रिया अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिन्छ ।
डा.रोका अनुभवी न्यूरोसर्जन हुन् र यसअघि पनि उनले हजारौ जटिल न्यूरोसर्जरी सफलतापूर्वक सम्पन्न गरिसकेका छन । उनको नेतृत्वमा गण्डकी मेडिकल कजेजमा गरिएको यस सफल शल्यक्रियाले गण्डकी मेडिकल कलेजलाई देशमै उच्चस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने विश्वसनीय केन्द्रको रुपमा स्थापित गरेको छ । उनले बताए अनुसार,यस्ता रोग केहि प्रतिशत वंशानुगत भए पनि जोकोहीलाई हुन सक्छ ।
डा.बिपिन बजागाईसहितको विशेषज्ञ टोलीले निरन्तर १३ घण्टा प्रयास गरी ट्युमर सफलतापूर्वक हटाएको थियो । डा.रोकाका अनुसार पोखरामै पहिलो पटक यस प्रकृतिको जटिल CPA ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ । केही दिन अस्पतालमै निगरानीमा राखी उपचार गरिएको पुन हाल सामान्य अवस्थामा फर्कँदै छन् । चिकित्सकले सवारी साधन नचलाउन र नियमित फलोअप जाँचमा आउन सल्लाह दिएका छन् ।
बिरामीका भतिज त्रिनेत्र पुन मगरले सफल उपचारप्रति खुसी व्यक्त गर्दै भने, “धेरै ठाउँ धाउँदा पनि रोग पत्ता लागेको थिएन । यहाँ आएपछि काकाको रोग पत्ता लाग्यो र सफल शल्यक्रिया भयो । हामी डा.रोका र सम्पूर्ण चिकित्सक टोलीप्रति निकै आभारी छौं ।”
अस्पताल प्रशासनका अनुसार अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सकको उपलब्धताले जीएमसीलाई जटिल न्युरोसर्जरीका लागि पोखराको भरोसायोग्य केन्द्रका रूपमा स्थापित गरेको छ । यस सफल शल्यक्रियाले निजी क्षेत्रका मेडिकल कलेजहरूले पनि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्छन् भन्ने सन्देश दिएको जनाइएको छ ।







