ताल र पर्यावरण संरक्षणमा महानगरलाई लक्ष्मी ग्रूपको साथ

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप)बिच ताल, वातावरण तथा पर्यावरण संरक्षणका खातिर सम्झौता भएको छ ।

सम्झौतामा महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनालगायत रहेका छन् ।

एक कार्यक्रमबीच समझदारीपत्रमा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले हस्ताक्षर गरेका छन् ।

तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताए ।

नेपालको अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएको उनको भनाई छ ।

पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकास मार्फत रोजगारी सिर्जना गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, महानगरपालिकामा विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरणका योजनासमेत रहेका छन् ।

गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

परियोजना परीक्षण काल ६ महिना सहित ५ वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ ।

पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने छ ।

Exit mobile version