जिएमसीमा २ दिने सर्जिकल वर्कशप, ‘सर्जन’ उत्पादनमा जोड

गण्डकी मेडिकल कलेज (जिएमसी), पोखराद्वारा आयोजित २ दिने आधारभूत सर्जिकल वर्कशप बिहीबार सम्पन्न भएको छ ।

वर्कशपबारे जानकारी दिँदै जिएमसीका एशोसियट प्रोफेसर एवं हाडजोर्नी विभागका रविमोहन ढकालले १८ जना एमडीका विद्यार्थीको सहभागिता रहेको जनाए ।

जिएमसीद्वारा आयोजित छैठौं वर्कशपमा सहभागीलाई सर्जिकलका दौरान प्रयोग हुने विभिन्न सामग्री, प्रयोग विधि, पुनः प्रयोग हुने विभिन्न सामग्रीको शुद्धिकरणबारे जानकारी दिएको डा. ढकालले जानकारी दिए ।

‘सर्जरीसँग सम्बन्धित विज्ञमार्फत एमडी र पिजीका विद्यार्थीलाई शल्यक्रियाको तयारी, चिरफार र सिलाईसम्बन्धी आधारभूत ज्ञान दिइएको छ’ वर्कशप संयोजकसमेत रहेका ढकालले भने ।

उल्लेखित वर्कशपबाट सहभागीले आगामी दिनमा स्तरीय सेवा दिनसक्ने बताउँदै उनले यसबाट बिरामीलेसमेत विशेषज्ञ सेवा लिनसक्ने दाबी गरे ।
‘आज वर्कशपबाट प्राप्त ज्ञानले उहाँहरुलाई भावी दिनमा टप सर्जन बन्न सहयोग पुग्ने छ’ उनले बताए ।

वर्कशपमा सहभागी डा. जभा खातुनले शल्यक्रियाबारे विविध ज्ञान लिने अवसर प्राप्त भएको प्रतिक्रिया दिइन् ।

‘एमबीबीएसमा प्राप्त ज्ञानलाई आज थप निखार्ने मौका पायौं’ खातुनले भनिन् ‘सर्जिकलका आधारभूत ज्ञानले हामीलाई भोलिका दिनमा सर्जन बनाउन सक्ने विश्वास पलाएको छ ।’

अर्का सहभागी डा. आरोग्य पौडेलले विशेषज्ञ प्रोफेसरहरुले हातै समातेर शल्यक्रियामा प्रयोग हुने विभिन्न सामग्रीको प्रयोग गर्न सिकाएको बताए ।

जनावरका भिन्न अंगमा चिरफार गरी शल्यक्रियाको चरण पार गरेको अनुभव रोमाञ्चकारी र विशेष भएको पौडेलले अनुभव सुनाए ।

गुणस्तरीय शिक्षामा प्रतिबद्ध जीएमसीको शिक्षण अस्पतालमा पछिल्लो समय देशका विभिन्न जिल्लाबाट आएर उपचार गराउने बिरामी त छन् नै छिमेकी मुलुक भारतबाट जिएमसी आइपुग्नेको संख्यामा समेत बढोत्तरी भएको छ ।

Exit mobile version