गण्डकीमा गाँजाः ‘औषधि’ र ‘उद्योग’मा वैधानिकता दिइने तयारी

गण्डकी प्रदेश सरकारले बहसमा रहेको गाँजा खेतीलाई औषधि र उद्योगकारुपमा प्रयोग गर्न पाउने विधेयकको मस्यौदा तयार पारेको छ ।

प्रदेशका किसानहरूको आर्थिक स्तरोन्नति गर्ने र वैकल्पिक अर्थतन्त्रको बलियो आधार तयार पार्ने महत्वाकांक्षी लक्ष्यसहित ‘गण्डकी प्रदेश गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ को विस्तृत मस्यौदा सार्वजनिक गरिएको हो ।

विधेयकले गाँजा उत्पादन, प्रशोधन, भण्डारण र बिक्री–वितरणको सम्पूर्ण चक्रलाई कडा सरकारी निगरानी र नियन्त्रणमा राख्ने विस्तृत खाका प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अग्रसरता र प्रदेशका सबै प्रमुख राजनीतिक दलहरूको अभूतपूर्व सहमतिका साथ अघि बढाइएको यो विधेयक पारित भएमा गण्डकी प्रदेश, नेपालमै गाँजा खेतीलाई व्यवस्थित रूपमा वैधानिकता दिने पहिलो प्रदेश बन्नेछ ।

मुख्यमन्त्री पाण्डेले यस विषयमा लामो समयदेखि सार्वजनिक परीक्षण गरिरहेको र सकारात्मक प्रतिक्रिया पाएपछि आधिकारिक रूपमा अघि बढेको बताए । गाँजा मस्यौदामाथि मंगलबार पोखरामा भएको छलफलमा उनले भने, ‘रेस्पोन्स के आउँछ भनेर अहिलेसम्म सार्वजनिक ठाउँमा ट्रायल गर्दै आएको थिएँ । सबैले यसलाई ताली बजाउनुभएको छ ।’

यो सरकारको मात्रै चाहना होइन, सबैको सहमतिमा विधेयकको रूपमा अगाडि बढाउन लागेको भन्दै उनले अब छिटोभन्दा छिटो कानुन बनाउन सबै दल तयार रहेको बताए ।

विधेयकको मस्यौदाले गाँजा खेती र कारोबारलाई अराजक हुन नदिन एक शक्तिशाली र स्वायत्त ‘गाँजा नियमन बोर्ड’ को परिकल्पना गरेको छ । मुख्यमन्त्रीद्वारा नियुक्त कार्यकारी निर्देशकको अध्यक्षतामा रहने यो बोर्डले गाँजासम्बन्धी सम्पूर्ण नीतिको नेतृत्व गर्नेछ ।

बोर्डमा प्रदेश सरकारका महत्वपूर्ण मन्त्रालयहरू (मुख्यमन्त्री कार्यालय, स्वास्थ्य, कृषि, उद्योग)का सचिवहरू, प्रदेश प्रहरी प्रमुख, स्वास्थ्य तथा कृषि विकास निर्देशक, नेपाल मेडिकल काउन्सिल, औषधि व्यवसायी संघका प्रतिनिधिहरू सदस्य रहनेछन् ।

यसलाई थप समावेशी बनाउन गाँजा उत्पादन गर्ने किसान र अनुमति प्राप्त पालिकाहरूका प्रमुखहरूलाई समेत बोर्डमा प्रतिनिधित्व गराइनेछ ।

यही बोर्डले गाँजा खेतीका लागि क्षेत्र तोक्न, अनुमतिपत्र जारी गर्ने र खारेज गर्ने, उत्पादित गाँजाको न्यूनतम समर्थन मूल्य तोक्न सरकारलाई सिफारिस गर्ने र कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने जस्ता सबैभन्दा महत्वपूर्ण अधिकार प्रयोग गर्नेछ ।

मस्यौदाले गाँजा व्यवसायलाई अत्यन्तै नियन्त्रित र अनुशासित बनाउने उद्देश्य राखेको छ । सरकारले राजपत्रमा सूचना निकालेर तोकेको जिल्ला, स्थानीय तह वा विशेष क्षेत्रमा मात्र गाँजा खेती गर्न पाइनेछ ।

किसानले उत्पादन गरेको गाँजा सिधै बजारमा लगेर बेच्न पाउने छैनन्, उनीहरूले अनिवार्य रूपमा नियमन बोर्ड वा बोर्डले तोकेको निकायलाई मात्र बिक्री गर्नुपर्नेछ ।

यसका लागि अनुमतिपत्र लिनु अनिवार्य छ र यसको शुल्क सामान्य छैन । विधेयकमा ९ प्रकारका इजाजतपत्रको व्यवस्था छ, जसका लागि ५ हजार रुपैयाँदेखि १ करोड ८० लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

जस्तै, प्रशोधन उद्योगका लागि ५० लाख, आयात–निर्यातसहितको व्यापारका लागि १ करोड ५० लाख र एकभन्दा बढी वर्गको काम गर्ने एकीकृत इजाजतपत्रका लागि १ करोड ८० लाख रुपैयाँसम्म दस्तुर लाग्ने प्रस्ताव छ ।

विधेयकले गाँजालाई वैज्ञानिक आधारमा वर्गीकरण गरेको छ । १ प्रतिशतभन्दा बढी नशायुक्त तत्व भएकोलाई ‘गाँजा’ र सोभन्दा कम भएकोलाई ‘भाँगो’ मानिनेछ ।

हरेक किसान र व्यवसायीले उत्पादन र बिक्रीको विस्तृत अभिलेख राख्नुपर्नेछ भने १८ वर्षमुनिका व्यक्तिलाई कारोबारमा संलग्न गराएमा अनुमतिपत्र स्वतः खारेज हुनेछ । अनुमतिबिना खेती वा कारोबार गर्नेलाई ३ वर्षसम्म कैद र ६ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कडा कानुनी व्यवस्था छ ।

Exit mobile version