वर्ष दिनमै गण्डकीबाट ९४ हजार वैदेशिक रोजगारमा लागे

गण्डकी प्रदेशमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ९४ हजार नाघेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८१/०८२ को वैशाख मसान्तसम्म गण्डकी प्रदेशका ११ जिल्लाबाट कुल ९४,०३६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ८४,२६८ पुरुष र ९,७६८ महिला रहेका छन् ।

सबैभन्दा धेरै श्रम स्वीकृति लिने जिल्ला तनहुँ रहेको छ । यहाँबाट १४ हजार ८ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसमध्ये १३ हजार ५ सय ९२ पुरुष र १ हजार ३ सय ५६ जना महिला छन् । दोस्रो स्थानमा स्याङ्जा जिल्ला छ, जहाँबाट १३ हजार ५ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन् भने नवलपुर जिल्ला तेस्रो स्थानमा रहेको छ, जहाँ १२ हजार ९ सय ५८ जनाले स्वीकृति लिएका छन् ।

बागलुङबाट १२ हजार ९ सय ९४ जना, कास्कीबाट ११ हजार १ जना, गोर्खाबाट १० हजार ७ सय ५८ जना, लमजुङबाट ७ हजार ४ सय ९० जना, पर्वतबाट ५ हजार २ सय ९९, म्याग्दीबाट ४ हजार ६ सय ४७ जना, मुस्ताङबाट २ सय ७५, मनाङबाट १ सय ७८ जनाले वैदेशिक रोजगारको श्रम स्वीकृति लिएका छन् ।

उक्त तथ्यांकमा पुनः श्रम स्वीकृति लिएका व्यक्तिहरू समेत समावेश छन् । वैदेशिक रोजगारीमा जाने क्रम तीव्र रहेको देखिँदा गण्डकी प्रदेशका अधिकांश युवाशक्ति अझै पनि रोजगारीका लागि विदेशिन बाध्य रहेको यो तथ्यांकले प्रष्ट देखाएको छ ।

विशेषगरी मलेसिया, खाडी मुलुकहरू, दक्षिण कोरिया, युरोपेली मुलुकहरूतर्फ श्रमिक रोजगारीका लागि पुगेका छन् । सीमित घरेलु रोजगारी अवसर, सीप र सूचनाको अभाव, आर्थिक अवस्थाजस्ता कारण विदेश जाने क्रम रोकिएको छैन ।

समग्र नेपालकै अवस्था हेर्दा प्रत्येक वर्ष झण्डै ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । तर देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारी नै एकमात्र विकल्पजस्तो बनेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार अहिलेसम्म झण्डै ८५ लाख नेपालीले श्रम स्वीकृति लिई विदेशमा काम गरिसकेका छन् । देशभित्र उत्पादक श्रम बजार सिर्जना गर्न नसक्दा शिक्षितदेखि अर्धशिक्षित र सीपविहीन श्रमिकसम्म वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् ।

गण्डकी प्रदेशजस्तो भौगोलिक र पर्यटकीय रूपमा समृद्ध प्रदेशमा समेत वैदेशिक रोजगारीको लहर नरोकिएको देखिनु चुनौतीपूर्ण अवस्था हो ।

Exit mobile version