मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोडे ।
सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो । सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए ।
८४ बल खेलेका उनले २ चौका प्रहार गरे । यस्तै कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्नका लागि नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३र३ विकेट लिए । शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।
तस्बिरः क्यान