पोखरामा जारी पुरुष टि–२० क्रिकेट : पर्वत र कास्की विजयी

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पर्वत र कास्की विजयी भएको छ ।

पर्वतले नवलपुरलाई १५ रनले पराजित गरेको हो भने कास्कीले गोर्खालाई १० विकेटले पराजित गर्दे अगाडिको यात्रातय गरेको हो । आजको जित संगै समुह बी को समिकरण रोचक मोडमा पुगेको छ ।

कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान २/२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

आज भएको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
निर्धारित २० ओभरमा पर्वतले ९ विकेट गुमाउँदै १३१ रन बनायो । टोलीका लागि अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५२ रन बनाए ।

अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए । नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान २/२ विकेट लिए भने अपराजित पौडेल, दीपक डुम्रे, र स्विकार श्रेष्ठले १/१ विकेट हात पारे ।

१३२ रनको लक्ष्य पछ्याउन ओर्लिएको नवलपुर १८.५ ओभरमा ११६ रनमै समेटियो । गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन, र बिगत पाण्डेले १७ रन बनाए तापनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

पर्वतका कप्तान अमृत गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । राजु थापाले पनि ३.५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिए भने बिनोद नेपालीले २ विकेट हात पारे । अमृत गुरुङ प्लेयर अफ द म्याच घोषित गरियो ।
कास्कीको अघि गोरखा निरिह
आज नै भएको दोस्रो खेलमा कास्कीको अघि गोरखा निरिह रह्यो । कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै आफलाई अब्बल सावित गर्यो ।

टस जितेर गोरखाले पहिला ब्याटिङ गरेको थियो । टोलीले १९.५ ओभरमै सम्पूर्ण १० विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो ।
गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे ।

कास्कीका बलरहरू बीच सन्तुलित प्रदर्शन गर्दै सुबास भण्डारीले ३.५ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले समान १–१ विकेट हात पारे ।

१ रन प्रति बलभन्दा कमको लक्ष्य पछ्याउन उत्रिएको कास्कीले गोरखाको बलिङलाई धज्जी उडाउँदै मात्र ८.४ ओभरमै ९४ रन बनाउँदै कुनै विकेट नगुमाई जित हात पा¥यो ।

अनिल गुरुङले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए । अनिल खेलको ’प्लेयर अफ द म्याच’ बने ।

भोली (बिहिबार) हुने खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले जनाएका छन् । भोलीको पहिलो खेल गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरका बीच हुनेछ ।तस्विर :बसन्त शेर्पा

Exit mobile version