पोखरामा जारी पुरुष टि–२० क्रिकेट :कास्की र नवलपुरको विजयी सुरूवात

पोखरा । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले विजयी सुरूवात गरेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २/२ अंक जोड्न सफल भएका छन् ।

खराव मौसमका कारण छोट्टाइएको १३/१३ ओभरको खेलमा पर्वतले टस जितेर फिल्डिङ रोजेपछि कास्कीले पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १०८ रन बनायो । कास्कीका लागि सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा ४ चौका र २ छक्का सहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे ।

पर्वतका लागि अमृत गुरुङले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने रोशन गौतमले २ विकेट र राजु थापाले १ विकेट लिए ।

१०९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए ।

कास्कीका सिब्रिन श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान १/१ विकेट झारे । प्लेयर अफ द म्याच कास्कीका सफल श्रेष्ठ घोषित भए ।

यस्तै आज नै भएको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा नवलपुरलाई ८ विकेटको क्षतिमा १४३ रनमा रोक्न सफल भयो तर जवाफी ब्याटिङमा आफैं १५.२ ओभरमै ५२ रनमै समेटिँदै ९१ रनले हार ब्यहोरोको छ ।

नवलपुरको सुरुआत केही कमजोर रह्यो । सुरुवाती तीन विकेटहरू चाँडै गुमाएपछि टोलीको इनिङ्सलाई रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारीलाई सम्हाले ।

सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै तीव्र पारी खेले । नवलपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए भने स्वरुप राज श्रेष्ठ र मेहुल श्रेष्ठले २/२ विकेट लिए ।

तर यता गोरखाको ब्याटिङ सुरुदेखि नै कमजोर रह्यो । कप्तान गौरव पौडेल १६ रनमै आउट भए भने अरू कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

सम्पूर्ण टोली १५.२ ओभरमै ५२ रनमा समेटियो । नवलपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे ।
स्विकार श्रेष्ठ र कमल परियारले ३/३ विकेट लिए भने अपराजित पौडेलले २ विकेट लिए । कमल म्यान अफ दि म्याच बने ।

भोलि(बुधबार) समुह बी अन्तर्गत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्नेछ भने गोरखाले कास्कीको सामना गर्नेछ । समुह ‘ए’बाट भने स्याङजा फाइनलमा प्रवेश गरिसकेको छ । तस्विर :बसन्त शेर्पा

Exit mobile version