विपद्को बबन्डर ! एक दशकमा १४ हजार बढीको ज्यान गयो, अर्बाैको क्षति

नेपालभर जारी वर्षाले देशभर प्राकृतिक विपद् निम्त्याईरहेको छ । विपद्सँग जुझ्न सरकारले जति तयारी गरिहेको छ त्यसको विपरित प्राकृतिक प्रकोपको दायरा झनै बढिरहेको पछिल्लो आंकडाले दर्शाएको छ ।

विपद्सँग लड्न सरकारका ३ सुरक्षा निकाय, रेडक्रस, प्रशासन अन्तरगतका निकायलाई हम्मेहम्मे परेको छ । नेपाल प्राकृतिक प्रकोपको जोखिमका हिसाबले अत्यन्त खतरापूर्ण अवस्थामा छ ।

बाढी, पहिरो, डुबान, कटान, भूक्षयदेखि महाभुकम्पसम्मका विभिन्न प्राकृतिक प्रकोपले पटक पटक ठूलो जनधनको क्षति समेत व्यहोर्नु परेको छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार विपदबाट पछिल्लो १० वर्षमा (आव २०७१/०७२–आव २०८१/०८२ जेठ १९ सम्म) १४ हजार २ सय २९ जनाले ज्यान गुमाएका छन् ।

यसअवधिमा घटेका ५० हजार बढी विपद्का घटनामा ३५ हजार ४ सय ३८ जना घाइते भएका छन् भने १ हजार १ सय ९७ जना बेपत्ता नै भएका छन् ।

पछिल्लो १० आर्थिक वर्षमा भएको मानविय एवं भौतिक क्षतिः

यो तथ्यांकलाई हेर्दा मनसुनजन्य विपद एवं प्रकोपले ठूलो जनधनको क्षति पुर्याएको देखिन्छ । क्षतिको विवरणले सरकार र मातहतका निकाय पनि पूर्वतयारी, उद्धार र क्षति न्यूनिकरण एवं व्यवस्थापनमा चुकेको देखिन्छ ।

करिब एक लाख हाराहारी जनशक्ति रहेको नेपाली सेना, करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बल, करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरी लगायत प्राकृतिक प्रकोपको समयमा प्रतिकार्यको काम गर्ने दर्जनौं निकाय छन् ।

तर विपद्को प्रतिकार्यमा रणनीतिक ढंगबाट लागेको दाबी गरिएपनि मानवीय र भौतिक क्षतिको ग्राफ वर्षेनी उकालो लागेको देखिन्छ ।

यसवर्ष अझै धेरै वर्षा हुँदै, प्रकोपको जोखिम पनि उत्तिकै
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।

विभागले ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहेको बताइन् ।

उनका अनुसार स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको बताइन् । जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ ।

सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ ।

वर्षा राम्रो हुँदा बालिनाली सप्रिएर उत्पादन राम्रो हुने अनुमान गरिए पनि पहिरो, बाढी र डुबानको समस्या पनि ल्याउने गर्दछ ।

यस वर्ष पनि मनसुन अवधिमा प्राकृतिक प्रकोप बढ्ने जोखिम भएकाले प्रभावकारी रुपमा काम गर्न मौसमविद्हरूले सुझाव दिएका छन् ।

Exit mobile version