Skip to content

नवलपुरमा एचआइभीबाट ८ जनाको मृत्यु

नवलपुरः नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुर बाहिरका व्यक्ति हुन् ।

गत कात्तिक मसान्तसम्म एआरटी (एन्टी रेट्रो भाइरल) सेन्टर चोरमारामा एक सय ४४ जनालाई एचआइभी सङ्क्रमण लागेको विवरण दर्ता भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै मध्य विन्दु नगरपालिकामा ४८ जना सङ्क्रमित छन् । त्यसै गरी कावासोती नगरपालिकामा ३४, हुप्सेकोट गाउँपालिकामा १४, विनयी त्रिवेणीमा १०, देवचुलीमा २ र गैँडाकोटमा एक जनालाई एचआइभी सङ्क्रमण देखिएको छ ।

त्यस्तै स्थायी ठेगाना चितवन लेखाएका ४, पाल्पाका ४, रुपन्देहीका ३ र तनहुँका एक जनामा पनि सङ्क्रमण देखिएको छ । टेक्निसियन निरीक्षक तिवारीका अनुसार आफ्नो जिल्लामा परीक्षण गर्दा गोपनीयता भंग हुने डरले अन्य जिल्लामा गएर परीक्षण गराउने गरिएको छ ।

सङ्क्रमितमध्ये ६३ जना पुरुष, ५६ महिला र २ जना तेस्रो लिङ्गी छन् । ९ जना स्थानान्तरण भई अन्यत्र गइसकेका छन् । ६ जनाले औषधी सेवन गर्न छोडेका छन् । अहिलेसम्म ७ पुरुष र एक महिला गरी ८ जनाको एचआइभी सङ्क्रमणबाट मृत्यु भएको तिवारीले बताउनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ मा पत्ता लगेका १२ जना सङ्क्रमितमध्ये दुई जना १५ वर्ष मुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको गत असारसम्मको तथ्यांकअनुसार गण्डकी प्रदेशमा दुई हजार ८२५ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै कास्कीमा एक हजार ४२६ जना सङ्क्रमित छन् । त्यस्तै स्याङजनामा तीन सय ८०, तनहुँमा दुई सय ५९, गोरखामा दुई सय ३०, बागलुङमा एक सय ८८, लमजुङमा एक सय २२, म्याग्दीमा ९२ र पर्वतमा ८० जना सङ्क्रमित छन् ।

तिवारीका अनुसार भारतसँगको खुल्ला सिमाना, वैदेशिक रोजगारीबाट फर्केकाहरू, ड्रग र सुई प्रयोगकर्ता, तेस्रो लिङ्गी र पुरुष–पुरुषबिच यौन सम्पर्क गर्नेहरूमा सङ्क्रमण महामारीको रूपमा देखिएको छ । तर सामान्य मानिसमा भने यो सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version