Skip to content

पोखरा १२ ले ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको भ्रमण गरायो

पोखरा । पोखरा महानगरपालिका-१२ नम्बर वडा कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । वडाले स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको एशियाकै ठूलो मानिएको शालिग्राम शिला सेतीवेणीमा वडाका ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको हो । विशेषगरि वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि विशेष दिन पारेर निःशुल्क रुपमा वडाले सेतीवेणी लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

हिन्दु धर्मालम्बी अनुसार आजको दिन पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । सोही अनुरुप वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि शतबीज छर्न सेतीवेणी लगेको हो, उनले भने ।

सेतीवेणीको शालिग्राम शिलालाई विष्णु भगवानको अवतारका रुपमा लिने गरेको पाइन्छ । शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्यस कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, बालाचतुर्दशी, नववर्ष, ठूला एकादशीमा भक्तजनहरुको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन ।

यसअघि वडाले लमजुङ जिल्लाको करापुटारमा रहेको प्रसिद्द धार्मिक स्थल इशानेस्वर मन्दिरमा ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको थियो । त्यसैगरी ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गर्दै आएको थियो । त्यतिमात्र नभै वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । वडाले बालबालिकादेखि ज्येष्ठ नागरिक सम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाइ वडा सचिव शारदा सापकोटाको नेतृत्वमा सेतीवेणी पठाएको हो । पछिल्लो समय पोखरा-१२ ले अन्य वडाको तुलनामा विभिन्न राम्रा कामहरू गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version