नयाँलिपिः वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् ।
गत आवको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यस अवधिमा पाँच लाख ४४ हजार ४७० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ ।
जुन गत आवको तुलनामा चालु आवमा ८२ हजार ७१ जनाले बढी हो । विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै मङ्सिर र माघमा श्रम स्वीकृति जारी भएको छ ।
चालु आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
चालु आव २०८१/८२ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार यस वैदेशिक रोजगारीका लागि पाँच लाख ४४ हजार ५७० जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि मात्रै एक लाख ७३ हजार ३४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।
चालु आवको सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश साउदी अरब र तेस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।
यस अवधिमा साउदी अरबका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख तीन हजार ९९१ जना रहेको छ भने कतारका लागि ९३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
आव २०८०/८१ मा दोस्रो र आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश मलेसिया यस पटक पाँचौँमा छ । मलेसियाका लागि भने चालु आवको यस अवधिमा १८ हजार ८९४ जनाले श्रम स्वीकृति लिएका छन् ।
चौथो कुवेतका लागि यस अवधिमा साढे २३ हजारले श्रम स्वीकृति लिएका छन् । यस अवधिमा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत सात हजार ७१० जना दक्षिण कोरिया गएका छन् ।