नयाँलिपिः गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले प्रदेश खाद्यान्नमा आत्मनिर्भरको बाटोमा रहेको बताएकी छिन् ।
प्रदेशसभामा आज प्रश्नोत्तर सेशनमा बोल्दै मन्त्री श्रेष्ठले ‘खाद्यातर्फको तथ्यांक हेर्दा गण्डकी प्रदेश खाद्यान्न बालीमा आत्मर्निभर सम्मुख रहेको जनाएकी हुन् ।
‘तरकारी बाली र आलुमा पनि प्रदेश आत्मर्निभर सम्मुख रहेको जानकारी गराउँदछु’ श्रेष्ठले भनिन् पशुजन्य पदार्थमा प्रतिव्यक्ति प्रति वर्ष उपलब्धताको तथ्यांक हेर्ने हो भनेपनि प्रदेश आत्मनिर्भर सम्मुख देखिन्छ । दूध, माछा, मासु र अण्डामा हामी आत्मनिर्भर नजिक छौँ ।’
प्रदेशमा अन्य स्थानहरुबाट कृषि उत्पादन आयात हुने गरेको भएपनि प्रदेशको उत्पादन र उपभोक्ताको आधारमा आत्मनिर्भर सम्मुख रहेको उनको भनाई छ ।
मन्त्री श्रेष्ठले पछिल्लो समय प्रदेशमा आलु, चैते धान र फलफूल खेतीमा कृषकको आकर्षण बढ्दै गएको जानकारी दिइन् ।
यस वर्ष खायन आलु उत्पादन प्रवर्धन कार्यक्रमबाट करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दलहन, तेलहन र फलफूलको उत्पादन बढाउन मन्त्रालयले विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् ।
पशुपालन व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउँदै दिगो उत्पादन प्रणाली स्थापना गर्न लोकमार्ग करिडोर लक्षित मासु उत्पादनका लागि बाख्रा विकास कार्यक्रम, बृहत्तर पशु विकास कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, मत्स्य पोखरी विस्तार, विभिन्न प्रकोपजन्य रोगहरुबाट बचाउन खोप कार्यक्रम गरिरहेको उनले उल्लेख गरिन् ।