दिपक के श्रेष्ठः गण्डकी प्रदेशमा सूचना प्रविधि पार्कको निर्माण गर्ने चर्चा चलिरहेको छ । गण्डकी प्रदेश सरकारले बजेटमा पार्क निर्माणको योजना अघि सार्दै नीति र बजेटको व्यवस्था पनि गरिरहेको छ ।
यसैबीच प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले भने आइटी पार्क निर्माणमा निजी क्षेत्रले लगानी गरोस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताएका छन् ।
पोखरामा जारी ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा बुधबार आयोजित ‘गण्डकीको समुन्नति, पर्यटन र प्रविधि’ विषयक परिसंवादमा वक्ताकारुपमा निम्त्याइएका उपाध्यक्ष देवकोटाले आइटी पार्क निर्माणको योजना सरकारको रहेपनि निजी क्षेत्रले लगानी गरोस् भन्ने चाहना रहेको उल्लेख गरे ।
‘आइटी पार्क निर्माणमा केही अड्चन रहेका छन्’ देवकोटाले भने ‘निजी क्षेत्रले लगानी गरे प्रदेश सरकारले अनुदानलगायत अन्य सहयोग गर्नेछ ।’ यद्यपि, सूचना प्रविधिमैत्री नीति निर्माणमा प्रदेश सरकार लागिरहेको उनले जनाए ।
कार्यक्रममा उपाध्यक्ष देवकोटाले आफु सन् २००६ मा अध्ययनकालागि कोरिया गएको क्षण स्मरण गर्दै त्यही समयको हाराहारीमा अहिले नेपालको आइटी क्षेत्र रहेको सुनाए । ‘सन् २००६ मा कोरियाको सूचना प्रविधि जुन स्तरमा थियो, अहिले नेपाल बल्ल त्यो स्तरमा छ’ उनले भने ।
अझ सूचना प्रविधिको प्रयोेग, उपयोगमा सरकारी क्षेत्र धेरै पछाडी रहेको उनको ठहर छ । निजी क्षेत्रमा भइरहेको प्रविधि प्रयोगको रफ्तारभन्दा धेरै पछाडी सरकार रहेको भन्दै उनले संघ सरकारले नै यसमा आवश्यक पहल नगरेसम्म इ–गभर्नेन्स केवल कोरा कल्पना हुने उनको भनाई छ ।
सरकार नै प्रविधिको प्रयोगमा पछि परिरहेको बताइरहँदा उनले प्रदेशमा ‘डिजिटल गण्डकी’को अवधारणा अघि सारेको र निरन्तर काममा जुटिरहेको बताए ।
एकातिर आइटीका विद्यार्थीहरु अवसर नपाएर बाहिरिइरहेको र अर्काेति सरकारी कार्यालयमा आवश्यक जनशक्तिको अभाव भइरहेको सन्दर्भमा संघ सरकारबाटै ठोस कदम नचालेसम्म प्रविधिकोक्षेत्रमा देश अघि बढ्न नसक्ने देवकोटाको ठम्याई छ ।