आइटी विज्ञले भने –‘सामाजिका सञ्जाल दुईधारे तरबार’

नयाँलिपिः पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र जारी ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा सूचना प्रविधिका विज्ञहरुले परिसंवाद गरेका छन् ।

सूचना प्रविधि उद्योगमा काम गर्ने उनीहरुले साइबर सुरक्षा, सफ्टवेयर र हार्डवयर निर्माण एवं कृतिम बौद्धिकता एआईको प्रयोगबारे आफ्ना धारणा राखे । सूचना प्रविधिको क्षेत्रमा अवसर असाध्यै रहेको तर त्यसको लागि प्रमाणपत्रभन्दा पनि सीप चाहिने जानकारी पस्के ।

रिद इन्फोटेक प्रालिका प्रमुख कार्यकारी निर्देशक रुपेश आचार्यले साइबर सुरक्षाबारे जानकारी दिँदै आफू सामान्य मान्छे हुँ र मेरो व्यक्तिगत सूचना कसलाई पो काम लाग्छ र भन्ने सोचेर आफ्नो सामाजिक सञ्जालका पासवर्डहरु जथाभावी सार्वजनिक नगर्न सुझाए ।

उनले भने ‘इन्टरनेट भनेको दुईधारे तरबार हो । प्रयोग गर्दा एउटा धार आफूतिर पनि फर्केको हुन्छ । जुन पायो त्यही लिङ्क क्लिक गर्नुहुँदैन ।’

‘एटयाकरले हामीजस्तै सामान्य मान्छेलाई खोजेको हुन्छ । किनकि, व्यक्तिले राष्ट्रिय अन्तर्राष्ट्रिय पेमेण्ट गेटवे चलाइएको हुन्छ । त्यसमा पसेर पैसा चोर्न सक्छ । हाम्रो इमेलहरुको पासपोर्ट हुन्छ । इन्स्टा, टिकटक,फेसबुकबाट पैसा नै कमाइरहेको एकाउण्ट छ । त्यसबाट पैसा नै कमाइरहेको हुन्छ । हामीले साथीहरुसँग च्याट गरेका हुन्छौँ, त्यो बाहिर आयो भने पनि गोप्य कुरा बाहिर आउँछ,’उनले भने,‘त्यसैले पनि आफ्ना व्यक्तिगत खाताहरु सुरक्षित राख्नुपर्छ ।’

ठूलो टेक्लोलोजीका सिइओ विश्वराज पौडेलले सूचना प्रविधि क्षेत्रमा अथाह सम्भावना रहेकोले त्योबारे सीप सिक्न आग्रह गरे । उनले भने,‘आइटीमा करिअरको कुरा गर्ने हो भने एकदमै हाइ डिमाण्ड छ । जसले पनि आइटी क्षेत्र सिक्न सक्छ । आजको दिनमा सिक्नैपर्ने स्किल भनेको एआई( कृतिम बौद्धिकता)को हो,’उनले भने,‘ आइटीमा सर्टीफिकेट छ भने त्यो सहायकमात्र हो, मुख्य त सीप नै चाहिन्छ । अपडेट भइराख्नुपर्छ ।’

यार्साटेकका इञ्जिनियरिङ म्यानेजर रोशन श्रेष्ठले हार्डवयर र सफ्टवयरको समायोजन गर्दामात्र सूचना प्रविधि क्षेत्रमा अगाडि बढ्न सकिने धारणा राखे । नेपाल डिजिटाइज्ड हुँदै गएको उल्लेख गर्दै उनले यार्साटेकले विभिन्न हार्डवयर र सफ्टवेयर निर्माण गरेको जानकारी दिए । उनले पास हुनको लागिमात्र पढ्ने हैन कि ज्ञान आर्जनको लागि पढ्नुपर्नेमा पनि जोड दिए ।

१२ औं संस्करणको क्यान इन्फोटेक र चौथो संस्करको मोवाइल मेलासमेत समावेश गरिएको मेलाअन्तर्गत बुधबार ‘गण्डकीको समुन्नति,पर्यटन र प्रविधि’ शीर्षकमा अन्तरसंवाद आयोजना हुने संघका महासचिव शोभा गौतमले जानकारी दिइन् । उनका अनुसार सो सत्रमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, जिपास्टका पूर्वअध्यक्ष डा. ढाकाराज भण्डारी र बाराही हस्पिटालिटी ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल वक्ता रहने छन् ।

Exit mobile version