गण्डकी प्रदेशको स्थापना मिति फेरियो, फागुन ४ को सट्टा माघ २२

नयाँलिपिः ०७४ फागुनको ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसकारुपमा मनाइन सुरु गरिए पनि यस वर्ष भने फरक मिति तय गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस वर्षको स्थापना दिवस फागुनको ४ को सट्टा माघ २२ गते तोकेका छन् ।

०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट त उक्त दिन प्रदेशभर सार्वजनिक बिदासमेत दिन थालिएको थियो । तर यसवर्ष बिदा कटौती गरिएको छ ।

यसवर्ष मुख्यमन्त्री पाण्डेले यसै विषयमा बैठक राखेर प्रदेश स्थापना दिवसको मिति तोक्ने र बिदा कटौती गर्ने काम गरेका छन् ।

प्रदेश दिवस मनाउन बैठकले प्रदेश नीति तथा योजना आयोगको हलमा बसेको बैठकले तयारीका लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा हुने कार्यक्रम प्रदेश सभा सचिवालय परिसरमा गरिने भएको छ ।

Exit mobile version