देउवा पक्षधर कांग्रेसको गण्डकी अधिवेशन पोखरामा सुरु, आजै बन्दसत्र

शेरबहादुर देउवा पक्षीय कांग्रेसको गण्डकी प्रदेश अधिवेशन आजदेखि सुरु भएको छ । निवर्तमान सभापति देउवाले उद्घाटन गरेकोअधिवेशन भोलिसम्म चल्नेछ ।

उद्घाटन सकिएपछि आजैदेखि बन्दसत्र सुरु हुने आयोजकले जनाएको छ । अधिवेशनमा प्रदेशभरबाट १ हजार ६ सय १ भन्दा बढी प्रतिनिधि सहभागी हुने अधिवेशनका संयोजक मेखलाल श्रेष्ठले जानकारी दिए ।

जस अन्तर्गत ३६ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६, प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रबाट ३५ का दरले ६३०, ३६ प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति, १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, गण्डकी प्रदेशका ८५ वटै पालिकाका सभापति, सभापतिबाट मनोनीत हुने प्रदेश प्रतिनिधि ४० जना, प्रदेश तथा संघका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, विभिन्न पालिकाका निर्वाचित प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । सभापति, दुई उपसभापति, दुई महामन्त्री ९खुला० र एक महिलासहित तीन सहमहामन्त्री चयन हुनेछन् ।

त्यस्तै, कार्यसमितिमा प्रदेशका ११ जिल्लाबाट तीनजनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी कोटाबाट १७ जना सदस्य निर्वाचित गर्नेछ । निर्वाचनका लागि नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत रहेका अधिवक्ता वीरेन्द्र केसीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

नयाँ कार्यसमिति सकेसम्म सर्वसम्मत रुपमा चयन गर्ने तयारीमा उक्त समूह लागेको छ । तर, सर्वसम्मत हुने सम्भावना कम रहेको बताइन्छ । सभापतिमा मेखलाल श्रेष्ठ र पर्वतका विश्वप्रकाश प्रसाईँको दाबेदारी रहने निश्चित जस्तो छ ।

अन्य पदमा पनि धेरै उम्मेदवार आकाङ्क्षी देखिएका छन् । आइतबारसम्ममा नयाँ कार्यसमिति निर्वाचित भइसक्ने दाबी गरिएको छ । अधिवेशनको उद्घाटनअघि चिप्लेढुंगाबाट सांस्कृतिक झाँकी सहितको र्याली आयोजना गरिएको छ ।

Exit mobile version