गृहमन्त्री सुधन गुरुङले नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ–राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने। यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ। ‘
आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले बताए ।
उनले भनेका छन्– ‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो।’
