नेपाली कांग्रेसका दुई समूहले छुट्टाछुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि अन्योल सिर्जना भइरहँदा कास्कीमा देउवा समूहले आगामी १५ औँ महाधिवेशनका लागि भन्दै विभिन्न तहमा संयोजकहरू चयन गरेको छ ।
देउवा समूहले कास्की जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी दिएको छ ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा विकास लामा गुरुङ, क्षेत्र नम्बर २ मा राजेन्द्र बराल र क्षेत्र नम्बर ३ मा पदम बस्ताकोटी चयन भएका छन् । पोखरा महानगरपालिका संयोजकको जिम्मेवारी मिलनप्रसाद तिवारीले पाएका छन् ।
गाउँपालिका तहतर्फ रूपामा ढकबहादुर थापा, मादीमा खिमबहादुर जिसी र अन्नपूर्णमा भरतबहादुर केसी संयोजक चयन भएका छन् । माछापुच्छ्रे गाउँपालिकामा भने संयोजकको नाम टुंगिन बाँकी छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण दुवै पक्षले १५ औँ महाधिवेशन छुट्टाछुट्टै गराउने तयारी गरेका छन् । गगन थापा नेतृत्वको समितिले असोज १६ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज ३ र ४ गते देशभर वडा अधिवेशन सम्पन्न गरेको छ ।
यता १४ औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा समूहले भने असोज १५ गतेबाट मात्रै वडा अधिवेशन सुरु गरी मंसिर १५ मा केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ ।
अधिवेशनको प्रक्रिया सुरु गर्नका लागि जिल्ला, क्षेत्र र पालिकाहरूमा तयारी समिति गठनको गृहकार्य भइरहेको कांग्रेस नेता पोषनाथ शर्माले बताए ।
दुई समूहको फरक-फरक कार्यतालिकाले गर्दा कास्कीका धेरैजसो नेता-कार्यकर्ता असोज ३ गतेको वडा अधिवेशनमा सहभागी भएनन् । असोज ३ र ४ को अधिवेशन बहिष्कार गरेका अधिकांश नेताहरू असोज १५ गतेदेखि सुरु हुने देउवा समूहको महाधिवेशन प्रक्रियामा जोडिने भएका छन् ।
यसरी असोज ३ को अधिवेशनमा सहभागी नभई असोज १५ को प्रक्रियामा सहभागी हुनेहरूमा पूर्व केन्द्रीय सदस्य गुरु बराल, महासमिति सदस्यहरू शोभियतबहादुर अधिकारी, दुर्गाप्रसाद तिमिल्सिना, ऋषिराम काफ्ले रहेका छन् ।
त्यस्तै महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, प्रदेश प्रतिनिधि गणेशबहादुर भट्टराई र किसान महासंघका गण्डकी प्रदेश सभापति पुष्पमणि भण्डारी पनि देउवा समूहकै प्रक्रियामा लाग्ने पोखरा महानगर समितिका सदस्य सुरेन्द्रनाथ शर्माले बताए ।
गण्डकी प्रदेश सांसद एवं महाधिवेशन प्रतिनिधि सरस्वती गुरुङ, महिला संघकी पूर्व केन्द्रीय सदस्य आनन्दी राणा कार्की र महाधिवेशन प्रतिनिधि चन्द्रावती वाग्ले पौडेलले पनि असोज ३ को प्रक्रियामा सहभागिता जनाएनन् । प्रदेश सांसद गुरुङले वडा अधिवेशनको उद्घाटन गरे पनि क्षेत्रीय प्रतिनिधि बन्न अस्वीकार गरेकी थिइन् ।
त्यस्तै विकास लामा गुरुङ, गोविन्द एलसी (लामिछाने) मिलन तिवारी, तरुण दलका पूर्व जिल्ला सचिव पदम बस्ताकोटी, प्रेम बराल, तरुण दल कास्की उपाध्यक्ष प्रेमलाल पुन, राजेन्द्र बराल, दीपक पौडेल, नेविसंघ पोखरा महानगर सभापति विपिन पौडेल, ढकबहादुर थापा र अञ्जनजंग थापालगायतका नेताहरू असोज १५ को वडा अधिवेशनमै सहभागी हुने बुझिएको छ ।
