नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आउनेबित्तिकै भोली शुक्रबार चुनदेवीमा भेला आयोजना गरिएको छ जसलाई देउवाले सम्बोधन गर्ने भएका छन् ।
देउवाले नेपाल आउनेबित्तिकै जारी गरेको वक्तव्यमार्फत आफूले विभाजन नभई एकता चाहेको सन्देश दिएका छन्। गगन थापाप्रति केही नरम देखिएका देउवाले आफ्नो वक्तव्यमार्फत पार्टी र मुलुकबारे महत्वपूर्ण सन्देश दिएका छन्।
आन्तरिक विवादबारे देउवाले भनेका छन्, ‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ।’ उनले आफू शक्ति प्रदर्शन वा शक्ति आर्जनका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको दाबी गरेका छन्।
देउवालाई स्वागत गर्न उनका समर्थकहरुले अधिक कार्यकर्ता जुटाउने प्रयास गरेका थिए । झाँकी, प्रदर्शन, नाराबाजीसहित ठूलो संख्याको नेता–कार्यकर्ता र समर्थकको उपस्थिति गराएपछि शक्ति प्रदर्शनको नमुनसमेत देखिएको छ ।
गगनलाई सभापति नस्वीकारेको देउवा पक्षले उनको चुनदेवीस्थित निवासमा सभापतिकै बोर्ड टाँसेको छ। यसले देउवा उपस्थित भएर पनि थापालाई सभापति स्वीकार गर्ने सम्भावना कमजोर देखिएको छ। थप कुरा शुक्रबार हुने देउवाको सम्बोधनपछि नै थाहा हुनेछ ।
देउवा पक्षका नेता नेता डा. प्रकाशशरण महतले भने, ‘हाम्रो सभापतिज्यूले २९ गते सम्बोधन गर्नुहुन्छ। त्यसपछि सबै कुरा छर्लङ्ग हुन्छ। आजै किन उजागर गर्ने र ?’
देउवानिकट नेताहरूले गगन थापालाई सभापति स्वीकार नगरेको र एकअर्कामाथि आरोप–प्रत्यारोप जारी राखेको अवस्थामा पार्टीलाई विभाजनतर्फ धकेलेको भन्ने प्रश्न उठ्न थालेको छ।
