पोखराकी प्रतिभा प्रेन्सा रेग्मीलाई ५० हजार रुपैयाँ नगद राशि तथा सम्मानपत्रसहित सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ।
रेग्मीलाई शनिबार पोखराका मेयर धनराज आचार्य, अग्रज साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कार छनोट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्यसमितिले अनुमोदन गर्दै उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो।
पुरस्कार छनोट समितिका संयोजक डा ईश्वरमणि अधिकारीका अनुसार प्रेन्साले सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई पुरस्कारका लागि छनोट गरिएको हो।
बालप्रतिभा कला, साहित्य, संगीत र खेलकुदमा मात्र सीमित नभई सामाजिक चेतना, मानवीय सेवा र समाज रूपान्तरणप्रतिको प्रतिबद्धतामा पनि अभिव्यक्त हुन्छ भन्ने मान्यतालाई यो छनोटले आत्मसात् गरेको छ।
विसं २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा नम्बर ११ फूलबारीमा बसोबास गर्दै आएकी छन्। उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।
सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनले समुदायका विभिन्न समस्या समाधानका लागि प्रयास गर्दै आएकी छन्। कोभिड-१९ महामारीका बेला मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र कपडा उपलब्ध गराउनेलगायतका मानवीय कार्य उनले गरेकी थिइन्।
लुगा बैंक स्थापना गरी विपन्न बालबालिकालाई सहयोग गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने काममा पनि उनको सक्रियता छ।
१६ वर्ष मुनिका बालप्रतिभाहरूलाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमै स्थापित पुरस्कार हो। बीचमा केही वर्ष रोकिएपछि सरुभक्त केन्द्रको स्थापनासँगै अघिल्लोपटकबाट पुनः पुरस्कार वितरण गर्न थालिएको हो। यसअघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन्।
पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रममा मेयर आचार्य बालबालिकालाई आफ्नो इच्छा अनुसार काम गर्न दिनुपर्ने भनाइ राखे । प्रेन्साका अभिभावकले उनको भावना बुझेर त्यसै अनुसार व्यवहार गरेका कारण उनी अहिले यो अवस्थामा आइपुगेको बताए । पुरस्कार स्थापना गर्ने सरुभक्त सरोकार केन्द्रलाई उनले आभार व्यक्त गरे ।
साहित्यकार सरुभक्तले अन्य क्षेत्रमा प्रसस्त पुरस्कार भए पनि बालबालिकाका क्षेत्रमा कम भएकै कारण केन्द्रले यो थालनी गरेको उनको भनाइ थियो । बालबालिकालाई प्रेरणा र हौसला दिनु भनेको बिरुवामा पानी हाल्नु सरह रहेको उनको भनाइ थियो ।
तीर्थ श्रेष्ठ र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले शुभकामना व्यक्त गरे। संस्थाका उपाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले स्वागत मन्तव्य राखेकी थिइन् भने पुरस्कार छनोट समिति संयोजक डा. ईश्वरमणि अधिकारीले स्रष्टाको परिचय दिएका थिए।
कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गरेका थिए। प्रेन्सा अध्ययनरत गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेल घर्तीले प्रेन्साले विद्यालयमा पारेको प्रभावका बारेमा भनाइ राखे । उक्त अवसरमा ८ वर्षे भूमिलक्ष्मी पराजुलीले आफू ६ वर्षकी हुँदा लेखेको पुस्तकबाट कथा वाचन गरेकी थिइन् ।
पुरस्कार ग्रहण गरेपछि मन्तव्य राख्दै सम्मानित व्यक्तित्व प्रेन्सा रेग्मीले परिवर्तनका लागि उमेर, पद वा ठूलो सम्पत्ति नचाहिने बताइन्।
‘हामी बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका परिवर्तनकारी शक्ति हो,’ उनले भनिन्, ‘आज यदि कुनै बालकले आफ्नो साथीमा भइरहेको विभेद अन्त्य गर्नको लागि त्यसविरुद्ध आवाज उठाउँछ भने त्यो परिवर्तन हो।’
परिवर्तन सानो कदमबाट सुरु हुने बताउँदै उनले आफ्नो उमेर र परिस्थिति लाई आफ्नो सीमा वा पहिचान नबनाउन आग्रह गरिन्।
