प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला

पोखरा । विद्यार्थीमा साहित्य, कला र संगीतको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ ।

मेलामा अग्रज साहित्यकार, गायक, कविका अनुभव र प्रस्तुतीसँगै साक्षात्कार पनि गरिएको थियो ।

कार्यक्रमको साहित्यकार मूर्धन्य साहित्यकार सरूभक्तले उद्घाटन गरे ।

विद्यार्थीसँग प्रश्नोत्तर साक्षात्कारमा सहभागी हुँदै सरूभक्तले पछिल्लो पुस्ता निकै भाग्यमानी रहेको बताए । ‘हाम्रो समयमा आफ्नो कला र प्रतिभा उजागर गर्नका लागि यस्ता स्थान प्राप्त हुन्थेन । अहिले बालबालिकाहरूलाई सानै देखि आफ्नो कला र क्षमता प्रस्फुटनसँगै विकास गर्न यसरी विद्यालयले नै स्थान दिइरहेको छ । तपाईं साना बालबालिकाहरू भाग्यमानी हुनुहुन्छ ।’

सरुभक्तले आफ्नो बाल्यावस्था र विद्यार्थीको जीवनबारे बच्चाहरूसँग अनुभव पनि साझा गरे । उनले विद्यार्थीको सिकाई पाठ्यपुस्तकमा मात्र निर्भर रहन नहुने उल्लेख गरे । जीवन बुझ्न किताब मात्र पर्याप्त नहुने भन्दै उनले आफ्नो प्रतिभा जुन क्षेत्रमा छ, त्यसै क्षेत्रमार्फत् जीवन अघि बढ्ने बताए ।

साहित्यकार सूर्य खड्का बिखर्चीले बालबालिकालाई आफ्नो चित्रकला, गायन, नृत्य, कविता प्रस्तुत गर्ने स्थान दिएकोमा विद्यालयलाई आभार व्यक्त गरे । उनले विद्यालयले यस्तै अतिरिक्त क्रियाकलाप मार्फत् विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पु¥याउनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीका फरक कार्यक्रम पस्कने क्रममा साहित्य, संगीत र कलालाई समेटेर कार्यक्रम आयोजना गरेको बताए । ‘विद्यार्थीको रुची फरक फरक हुन्छ । कतिपयले साहित्यलाई रुचाउँछन, केहीले कला र कतिपयले संगीतलाई ।

त्यसबाहेक विद्यार्थीमा पठन शैली विकास गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्छन्’ पौडेलले भने, ‘फरक शैलीमा कार्यक्रम पस्कने क्रममा हामीले गतवर्षदेखि नै साहित्य, कला र संगीतलाई समेटेका छाँै । यो क्रम जारी रहनेछ ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले पाठ्यपुस्तक बाहेक बाह्य ज्ञान दिलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । ‘विद्यार्थीको सिर्जना, रचना र सिर्जनामार्फत पस्केको सपना देखाउने अवसर यो कार्यक्रमले जुटाएको छ,’ प्राचार्य सापकोटाले भने, ‘यसले विद्यार्थीमा रहेको अन्तरनिहीन क्षमतालाई बाहिर ल्याउनेछ भने अरु विद्यार्थीमा पनि कला र संस्कृतिको ज्ञान पस्कनेछ ।’

कार्यक्रममा साहित्यकार इन्द्र राना प्रतिकलाई नगद १० हजारसहित सम्मान पनि गरिएको थियो ।
उक्त कार्यक्रममा पुस्तक र चित्रकला प्रदर्शनी र चिनियाँ नृत्य लगायत सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त अवसरमा पूर्व विद्यार्थी अस्मित भुसाल, विद्यार्थीहरु सुशान्त सिग्देल, करिना काफ्ले लगायतबाट कविता बाचन सहित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । विद्यार्थी आफैले कोरेका चित्र उक्त कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो भने विद्यार्थीहरुले प्रत्यक्ष चित्रकला प्रस्तुत पनि गरेका थिए ।

कार्यक्रमको संचालन विद्यालयका सहप्राचार्य प्रदीप खनालले गरेका थिए ।

Exit mobile version