सुरज श्रेष्ठ,पोखरा । कास्की–२ को चुनावी मैदानमा यसपटक राजनीतिक संस्कार, सार्वजनिक प्रतिबद्धता र पत्रकारिताको अनुभव बोकेर उत्रिएका छन् उत्तमप्रसाद पौडेल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बनेका पौडेल परिवर्तन र सुशासनको स्पष्ट एजेन्डासहित मतदातामाझ सक्रिय छन् ।
लामो समय पत्रकारितामा बिताएका पौडेलले टेलिभिजन र रेडियोमार्फत समाजका विकृति, बेथिति र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै आएका थिए । जनताका मुद्दालाई केन्द्रमा राखेर काम गरेका उनी भन्छन्, “मिडियाबाट प्रश्न उठाएँ, अब संसदबाट समाधान खोज्ने समय आएको छ ।” सञ्चार क्षेत्रको अनुभवले नीति निर्माणमा व्यावहारिक दृष्टिकोण दिन सक्ने उनको विश्वास छ ।
सहकारी पीडित र भूमिहीनको मुद्दा प्राथमिकतामा
पौडेलले सहकारी ठगीका कारण बचत गुमाएका सर्वसाधारणको न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “सहकारी पीडितको रकम फिर्ता र दोषीलाई कारबाही गराउने विषय हाम्रो पहिलो प्राथमिकता हो,” उनले बताए ।
त्यसैगरी, वर्षौंदेखि लालपुर्जा नपाएका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्पष्ट नीति र समयबद्ध कार्ययोजना ल्याउने उनको अठोट छ । भूमि अधिकार सुनिश्चित नगरी सामाजिक न्याय सम्भव नहुने उनको धारणा छ ।
सुशासन र युवामैत्री नीति
रूपा गाउँपालिका–देउरालीका स्थायी बासिन्दा पौडेल हाल पोखरामा बसोबास गर्दै आएका छन् । सुशासन, विधिको शासन, पारदर्शिता र युवामैत्री नीति उनको प्राथमिकतामा छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार, रोजगारी सिर्जना तथा भ्रष्टाचारमुक्त प्रशासन निर्माण उनका मुख्य एजेन्डा हुन् ।
पुराना दलप्रति बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्रपार्टीले उठाएको वैकल्पिक राजनीतिक धारलाई कास्की–२ मा संस्थागत गर्ने लक्ष्यसहित पौडेल घरदैलो अभियानमा व्यस्त छन् ।
राजनीतिक संस्कारको विरासत, पत्रकारिताको अनुभव र सामाजिक न्यायप्रतिको स्पष्ट प्रतिबद्धता—यी आधारमा उत्तम पौडेल कास्की–२ मा आफूलाई भरोसाको नयाँ विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन् ।
सहकारी पीडित, भूमिहीन र युवापुस्ताका मुद्दालाई केन्द्रमा राख्दै उनी मतदातामाझ विश्वास जित्ने प्रयासमा छन् । अब निर्णय मतदाताको हातमा छ—परिवर्तनको एजेन्डालाई समर्थन गर्ने कि पुरानै अभ्यासलाई निरन्तरता दिने ।
