पोखराका ५ अग्रज पत्रकारलाई प्रेस रजिष्ट्रार गण्डकीको सम्मान

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले ५ अग्रज पत्रकारलाई एक कार्यक्रमकाबीच आज पोखरामा सम्मान गरेको छ ।

कार्यालयद्वारा आयोजित ‘गण्डकी मिडिया समिट–२०८३’ तथा अग्रज पत्रकार सम्मान समारोहमा अग्रज पत्रकारहरुलाई सम्मान गर्दै पत्रकारिता क्षेत्रमा गरेको योगदानको चर्चा समेत गरिएको छ ।

सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् ।

प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे ।

३ दिनअघिमात्र निधन भएका स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे । सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो ।

गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन् । पोखरेली नवरत्नबाट सम्मानित उनी स्वतन्त्रता सेनानी पनि हुन् । उनले लेखेको समाचारकै कारण पृथ्वीनारायण क्याम्पसले जग्गा पाएको इतिहास छ ।

अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् । पत्रकारिता उनका लागि पेसा मात्र भएन, दर्शन बन्यो । २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै उनी ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थालेका हुन् । बौद्ध दर्शनका अध्येता अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्न सम्मान गरिएको थियो ।

२०१४ सालमा जन्मिएका अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । उनी तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छन् । दर्जन बढी मिडियामा काम गरिसकेका उनी हाल एभिन्यूुजका संवाददाता हुन् ।

तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका ९२०३९ सालदेखि० निरन्तर प्रकाशित छ । उनले समाचार मात्र लेखनन्, इतिहास पनि लेखे ।

सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुन् । पर्वतमा उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका निस्कन्छ ।

Exit mobile version