सरकारले यसपटक विपद् पूर्वतयारी र प्रतिकार्यका सम्बन्धमा विगतको कमजोरीलाई सच्याउँदै नयाँ योजना अघि सारेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनमा शून्य मानवीय क्षतिको लक्ष्य हासिल गर्ने गरी कार्ययोजना निर्माण गरेर खटिइन सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् ।
विपद् व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले प्राधिकरणसँगको समन्वयमा काम अघि बढाइसकेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब ५१ हजार ८८६ परिवारका दुई लाख २६ हजार ६०० भन्दाबढी नागरिक प्रभावित हुने जनाएको छ ।
प्राधिकरणका अनुसार कोशीमा ३८ हजार ७३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।
तयारीवस्थामा १८ हजार सुरक्षाकर्मी
नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्य र पूर्वतयारीका लागि १८ हजार फौज ‘स्टाण्डबाइ’ राखेका छन् ।
सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरी आठ हजार १८० सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।
नेपाल प्रहरीले विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका इकाईमा आवश्यक उपकरणसहित १० हजार ८५ जना प्रहरी जनशक्ति तयारी अवस्थामा राखेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
