कञ्चन पत्रकारिता पुरस्कार २०८३ खेम सारु र गोपाल जिटीलाई

पोखरा । सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् ।

फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५/२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो ।

कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले जिल्ला प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताए । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पुरस्कृत पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताए । त्यस्तै अर्का सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ, नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठान उपकुलपति तिलप्रसाद पुन “तिलक”, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य, लेखक, फोनिजका सदस्य रवीन्द्र माकाजू, पुरस्कारदाता बिमलमान गुभाजूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराएका थिए । त्यस्तै गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिएकी थिइन् ।

सम्मानित पत्रकार सारु विगत ३ दशक यता कास्कीको पोखरा तथा जिटी स्याङ्जामा विगत २ दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् ।
यस अघि यो पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् ।

फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापामगरले सञ्चालन गरेका थिए ।

Exit mobile version