गण्डकीमा बीमाका बिरामीलाई सास्ती, सामान्य जाँचमा ३ दिन खर्चनु पर्ने

पोखरास्थित गण्डकी अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा स्वास्थ्य बिमा मार्फत उपचार गराउन जाने बिरामीहरूले चरम सास्ती खेप्नुपरेको छ ।

अस्पतालको सेवा झन्झटिलो हुँदा सामान्य चेकजाँचका लागि समेत बिरामीहरूले कैयौँ घण्टा र दिनहरू खर्चिनुपर्ने अवस्था देखिएको छ ।

अस्पतालमा स्वास्थ्य जाँचका लागि पुग्ने बिरामीले पालना गर्नुपर्ने लाइनका चरणहरू निकै लामा र थकाइलाग्दा रहेका छन् । प्राप्त विवरण अनुसार, बिरामीले टोकनका लागि मात्र १ घण्टा कुर्नुपर्छ भने टिकट काट्नका लागि थप २ घण्टा समय लाग्छ ।

त्यसपछि डाक्टरसँगको चेकजाँचका लागि १ घण्टा, बिलिङ (ल्याब वा एक्स-रे) का लागि १ घण्टा, ल्याब टेस्ट अथवा एक्स-रेका लागि १ घण्टा र फेरि डाक्टरलाई रिपोर्ट देखाउन १ घण्टा लाइन बस्नुपर्ने बाध्यता छ ।

यति मात्र होइन, रिपोर्ट देखाइसकेपछि मेडिसिन स्क्यानका लागि १ घण्टा र अन्त्यमा फार्मेसीबाट औषधि लिन अर्को १ घण्टा लाइन बस्नुपर्ने हुन्छ ।

यदि बिरामी अनुभवी छ र बिहान ७ बजे नै अस्पताल पुग्यो भने यी सबै प्रक्रिया पूरा गरेर एक दिनमा सामान्य चेकजाँच सक्न सक्छ । तर, प्रक्रियाबारे अनभिज्ञ वा अल्मलिने बिरामीका लागि भने यी सबै चरण पार गर्न २ देखि ३ दिनसम्म लाग्ने देखिएको छ ।

अस्पतालको सेवा पहिलेको तुलनामा निकै कठिन र झन्झटिलो बन्दै गएको बिरामीहरूको अनुभव छ ।

विशेषगरी गाउँबाट स्वास्थ्य बिमा लिएर आउने बिरामीहरूलाई कम्तीमा ३ दिनको समय निकालेर आउन सुझाव दिन्छु ।

स्वास्थ्य बिमामार्फत सहज सेवा पाउने आशामा अस्पताल पुग्ने सर्वसाधारणले भोग्नुपरेको यस्तो सास्तीप्रति सरकारको ध्यान जानु जरुरी देखिएको छ ।

माथि उल्लेखित धारणा अस्पतालका भुक्तभोगी रमेश शर्माको हो ।

Exit mobile version