भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ ।
विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
विभागले सूचनामार्फत राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको हो ।
सूचनाअनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।
इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ । एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाँच लाख दस्तुर बुझाउनुपर्नेछ । यस्तै, पाँच करोडभन्दा बढी कारोबार गर्नेले १० लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ ।
अनलाइन आवेदनसँगै पेस गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेस गर्नुपर्ने विभागले जनाएको छ ।
