पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले लिए सपथ

 पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले प्रतिष्ठानकी कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ लाई सपथ गराए ।

त्यसपछि उपकुलपति, सदस्य सचिव, प्रज्ञा परिषद् तथा प्रज्ञा सभा सदस्यहरूलाई कुलपति प्रतीक्षाले पद तथा गोपनीयताको सपथ गराइन् । सपथ ग्रहण लगत्तै उनीहरूले पोखरास्थित प्रतिष्ठानको कार्यालयमा आजै पदभार समेत ग्रहण गरे ।

सपथ ग्रहणसँगै प्रतिष्ठानले पोखराको भाषा, साहित्य, कला, संगीत, संस्कृति तथा सिर्जनात्मक क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानको नेतृत्वमा भाषा तथा साहित्य क्षेत्रबाट कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’, कला तथा साहित्यबाट उपकुलपति तिलक पुर्जा पुन मगर तथा लोकगीत तथा संगीत क्षेत्रबाट सदस्य सचिव जीवन दाहाल रहेका छन् ।

त्यस्तै, प्रज्ञा परिषद् सदस्यमा नृत्यतर्फ श्रीजंग गुरुङ, फाइन आर्ट/ललितकलातर्फ हरेराम जोजेजु, संगीत तथा वाद्यवादनतर्फ दिलीप गायक तथा रंगमञ्च तथा अभिनयतर्फ प्रमिला ताम्राकार तुलाचन रहेका छन् ।

प्रज्ञा सभा सदस्यमा साहित्यतर्फ कल्पना चिलवाल, संस्कृतितर्फ कृष्णप्रसाद गौतम, नृत्य निर्देशन तथा कलाकारतर्फ गमबहादुर परियार, फाइन आर्ट/ललितकलातर्फ ज्योति गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी, लोकगीत तथा संगीत एवं गीतकारतर्फ प्रेमराज अधिकारी, संगीत तथा ब्याण्डतर्फ भास्करध्वज श्रेष्ठ, साहित्य तथा इतिहासतर्फ रविन्द्र माकाजु, साहित्य तथा कलातर्फ रिता पहारी र लोक तथा दोहोरी गीत संगीततर्फ शिवहरि ढुंगाना रहेका छन् ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पोखराको मौलिक कला, साहित्य, भाषा, संगीत र संस्कृतिको संरक्षण गर्दै स्थानीय सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानले विभिन्न विधाका सर्जक, कलाकार तथा साहित्यकारलाई एउटै संस्थागत संरचनामा जोड्दै पोखराको प्राज्ञिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउने विश्वास नगर प्रमुख आचार्यले व्यक्त गरे ।

Exit mobile version