सानो फुटबल चौर जसलाई ‘जी स्पोर्ट्स’ले बनाइदियो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

नेपालले सन् १९९८ मा एसीसी ट्रफी आयोजनाको जिम्मा पाए पनि देशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला नहुँदा ठूलो चुनौती थियो।

यही संकटका बीच भारतीय टेलिभिजन च्यानल ‘जीटीभी’ नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा आई रंगशाला निर्माणमा लगानी गर्न सहमत भयो।

प्राविधिकहरूको सुझावमा पहिले फुटबल खेलिने त्रिभुवन विश्वविद्यालयको जग्गालाई ५ वर्षका लागि सम्झौता गरी रंगशाला बनाइयो, जसकै कारण नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सक्यो।

नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएसँगै त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको ‘जी स्पोर्टस’ कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो।

सुरुमा विश्वविद्यालयका विद्यार्थी र घरेलु प्रतियोगिताहरूका लागि प्रयोग गरिने यो मैदानलाई ‘जी स्पोर्ट्स इन्डिया’ले निर्माण गरिदिएको थियो।

सम्झौता अनुसार जी स्पोर्ट्सले ठुलो आर्थिक लगानी गरेर उक्त ठाउँलाई अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदानमा रूपान्तरण गरिदिएको हो। मैदान तयार भएपछि एसीसी ट्रफीका खेलहरू जी टिभीबाटै प्रत्यक्ष प्रसारण समेत गरिएको थियो।

सन् १९९८ मा स्थापना भएको यस मैदानमा जापान र हङकङ बीच ५ अक्टोबर १९९८ मा पहिलो अन्तर्राष्ट्रिय खेल (एसीसी ट्रफी) सम्पन्न भएको थियो।

खराब मौसमका कारण अघिल्ला तय गरिएका खेलहरू रद्द भएपछि यो नै यहाँको ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय म्याच बन्न पुग्यो। २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच र ३ अक्टोबरमा नेपाल र थाइल्याण्डबीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नेपालको पहिलो र प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो।त्रिभुवन विश्वविद्यालयको आन्तरिक खेल मैदानका रूपमा स्थापना भएको यस मैदानलाई वि।सं। २०५५ देखि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्न सुरु गरिएको हो।

पछि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रियस्तरका खेलहरू आयोजना गर्न थालेपछि यो मैदान देशकै मुख्य क्रिकेट केन्द्र बन्यो, जुन हाल नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल मैदानका रूपमा रहेको छ।

Exit mobile version