पोखरा । कास्की प्रहरीले फार्मेसीमा औषधि बिक्री गरेको विषयलाई लिएर फर्मासिस्टलाई पक्राउ गरेपछि औषधि व्यवसायीहरूले आपत्ति जनाएका छन् ।
मनोरोगको उपचारमा प्रयोग हुने औषधिको प्रकृति र प्रयोग नबुझी लागुऔषध कारोबारसँग जोडेर व्यवसायीलाई आरोपित गर्न नहुने उनीहरूको भनाइ छ । उनीहरूले घटनाको सत्यतथ्य बुझेर निष्पक्ष अनुसन्धान गर्न र दोषी प्रमाणित नहुँदासम्म व्यक्तिको प्रतिष्ठामा आँच आउने व्यवहार नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नेपाल औषधि व्यवसायी संघ कास्की शाखाका अध्यक्ष धिरज गौतमले औषधिको प्रकार, प्रयोग र उपयोगबारे पर्याप्त जानकारी नलिई फर्मासिस्टलाई पक्राउ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार बिक्री गरिएको औषधि मनोरोगसम्बन्धी उपचारमा प्रयोग हुने औषधि भएकाले त्यसको प्रकृति नबुझी लागुऔषध कारोबारका रूपमा व्याख्या गर्नु उचित हुँदैन ।
गौतमले यस विषयमा स्पष्ट पार्न औषधि व्यवसायीहरू जिल्ला प्रहरी कार्यालय कास्की पुगेर छलफल गरेको बताए । औषधि व्यवसायीलाई अनावश्यक रूपमा लागुऔषध कारोबारीका रूपमा चित्रित गर्दा समग्र व्यवसायको प्रतिष्ठामा असर पर्ने उनको भनाइ छ ।
उनका अनुसार प्रहरीको अनुसन्धान प्रक्रियाप्रति व्यवसायीको विरोध होइन, तर औषधिको प्रकृति, बिक्रीसम्बन्धी कानुनी व्यवस्था र आवश्यक कागजातको अवस्थालाई बुझेर मात्रै कारबाही अघि बढाउनुपर्छ । प्रहरीको टोली एक्कासि औषधि पसलमा पुग्दा दर्ता, नवीकरण तथा खरिदसम्बन्धी कागजात तत्काल प्रस्तुत गर्न नसकिएको व्यवसायी पक्षको भनाइ छ ।
‘पहिला थुन्ने अनि सुन्ने कानुन परिमार्जन होस्’
नेपाल औषधि व्यवसायी संघ गण्डकीका निवर्तमान अध्यक्ष कृष्ण पाण्डेले पनि घटनाबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पक्राउ र अनुसन्धानको प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
पाण्डेले सत्यतथ्य र वास्तविकता बुझेर कानुनबमोजिम दोषी प्रमाणित हुनुअघि नै कुनै व्यक्ति वा व्यवसायीलाई हत्कडी लगाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्तो व्यवहारलाई सुशासन भन्न मिल्छ कि मिल्दैन भन्ने प्रतिप्रश्न गरेका छन् । उनले ‘पहिला थुन्ने अनि सुन्ने’ कानुनी अभ्यास परिमार्जन हुनुपर्ने आशय व्यक्त गरेका छन् ।
उनको भनाइमा, औषधिको प्रकृति र बिक्रीसम्बन्धी प्राविधिक पक्षलाई पर्याप्त रूपमा नबुझी कारबाही गर्दा निर्दोष व्यक्तिले समेत अनावश्यक कानुनी झन्झट र सामाजिक प्रतिष्ठामा क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले अनुसन्धानका क्रममा सम्बन्धित प्राविधिक निकायको राय लिनु र आवश्यक कागजात प्रस्तुत गर्ने अवसर दिनु महत्त्वपूर्ण हुन्छ ।
पाण्डेले औषधिसम्बन्धी प्राविधिक विषय औषधि व्यवस्था विभागजस्ता सम्बन्धित निकायको समन्वयमा हेरिनुपर्ने धारणा राखेका छन् । अनुसन्धानका लागि हिरासतमा राख्नैपर्ने अवस्था छ वा छैन भन्ने विषयमा पनि कानुनी मापदण्ड र परिस्थितिका आधारमा निर्णय गरिनुपर्ने उनको भनाइ छ ।
औषधि व्यवसायीहरूले पक्राउ परेकी फर्मासिस्टमाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न, बिक्री गरिएको औषधिको कानुनी वर्गीकरण स्पष्ट पार्न र घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। यस विषयमा ठोस मागसहित सम्बन्धित निकायमा जाने उनीहरूले बताएका छन् ।
औषधि व्यवसायीको भनाइमा, औषधि बिक्रीसम्बन्धी विषयलाई लागुऔषध कारोबारको आरोपसँग जोड्नुअघि औषधिको प्रकृति, बिक्रीको अवस्था र सम्बन्धित कानुनी व्यवस्थाको वस्तुनिष्ठ मूल्याङ्कन आवश्यक छ ।
यद्यपि, पक्राउ परेकी फर्मासिस्टमाथि लागेको आरोपको सत्यता र कानुनी जिम्मेवारीबारे अन्तिम निष्कर्ष अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै तय हुनेछ । प्रहरीको आधिकारिक प्रतिक्रिया र घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि विषयको अर्को पक्ष पनि स्पष्ट हुनेछ ।
