त्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति माग गर्दै यातायात क्षेत्रका महासंघ तथा मजदुर संघ–संगठन आन्दोलनमा उत्रिएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात श्रमिकको पेशागत सुरक्षाको प्रत्याभूति गर्न छवटा महासंघ तथा संघ–संगठनले संयुक्त संघर्ष समिति गठन गरेका हुन्।
त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि बा।५ ख ४२७४ नम्बरको बसभित्र चालक दोङले आत्मदाह गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले चालक र ट्राफिक प्रहरीबीच विवाद सुरु भएदेखि आत्मदाहसम्मको घटनालाई सामान्य ट्राफिक कारबाहीको विषयमा मात्रै सीमित नगरी सडकमा नियामक निकायको व्यवहार र कार्यशैलीसमेत जोडेर अनुसन्धान गर्नुपर्ने उल्लेख छ।
मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेका बेला आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमनमा अवरोध भएपछि चालक लामाले हर्न बजाएका उनीहरूले बताएका छन्। हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेपछि जरिवाना गर्ने विषयमा विवाद भएको उनीहरूको भनाइ छ।
त्यसपछि थप ट्राफिक प्रहरी घटनास्थलमा पुगेर बसलाई राहदानी विभागअगाडि लगी यात्रुहरूलाई ओराली करिब दुई घण्टासम्म नियन्त्रणमा राखिएको विज्ञप्तिमा उल्लेख छ। चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लैजान खोज्दा उनले प्रतिवाद गरेको पनि संगठनहरूको दाबी छ।
घटनापछि ट्राफिक प्रहरी कार्यालयले सवारीधनीलाई फोन गरी चालकलाई बग्गीखाना पठाइदिन भनेको खुलेको छ। सवारीधनीले चालकसँग सम्पर्क गरेको पनि उनीहरूले खुलाएका छन्। त्यसक्रममा चालक लामाले आफूले गल्ती नगरेको भन्दै बग्गीखाना जान अस्वीकार गरेको तथा ट्राफिक प्रहरीबाट मानसिक दबाब र हैरानी भोगेको बताएको संगठनहरूको भनाइ छ।
सवारीधनीले चालकले व्यक्त गरेको मानसिक अवस्थाबारे सम्बन्धित ट्राफिक प्रहरी अधिकारी तथा कार्यालयलाई समेत जानकारी गराएको दाबी गरिएको छ। त्यसको केही समयपछि चालकले बसको ढोका बन्द गरी आफ्नै शरीरमा आगो लगाएको र बससमेत जलेको घटनाले आफूहरू स्तब्ध भएको यातायात क्षेत्रका संगठनहरूले बताएका छन्।
संगठनहरूले घटनाको कारण र जिम्मेवारीबारे निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्। ‘ट्राफिक नियम उल्लङ्घन भए कानुनी कारबाहीको विषय हुन सक्छ, तर कानुनी कारबाही र श्रमिकलाई मर्न बाध्य पार्ने किसिमको दुर्व्यवहार एउटै विषय होइन,’ उनीहरूले संयुक्त रुपमा भनेका छन्।
उनीहरूले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको विवरणका आधारमा चालक लामालाई आत्मदाहसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे अनुसन्धान गर्न माग गरेका छन्।
